सिड्नीमा लकडाउन थप लम्बियो, बुधबार थपिए ९७ संक्रमित

सिड्नी । कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि सिड्नीमा दुई हप्तादेखि जारी लकडाउन थप लम्बिएको छ ।

प्रिमियर ग्लाडीस बेरेक्जिलियनले बुधबार बृहत सिड्नी क्षेत्र भरी लागू हुनेगरी थप दुई हप्ता लकडाउन थप्ने निर्णय गरेको जानकारी दिइन् ।

नयाँ थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुनेछ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ ।

प्रिमियर बेरेक्जिलियनले भनिन्, ‘हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समिक्षा गरेका छौँ, सङ्क्रमण अझै पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको हो ।’

लकडाउनमा लागु हुने नियमहरुलाई कडाइका साथ पालना गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीहरुले सवैलाई आग्रह गरेका छन् । लकडाउनको समयावधि थप भएपछि विद्यार्थीहरुको अध्ययन अध्यापन कार्य पनि अझै केही दिन अनलाइनबाट नै हुने भएको छ ।