काठमाडौं, महाभूकम्पको छैटौं दिन मात्रै आफ्नो निर्वाचन क्षेत्रभित्र भूकम्पपीडितको स्थिति निरीक्षण गर्न आएको भन्दै नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालमाथि स्थानीयवासीले हातपात गरेको रहस्य खुलेको छ । राजधानीको अत्याधिक भूकम्प प्रभावित क्षेत्रमध्यको साँखुस्थित खुमलटार वैशाख १८ गते खालि हात पुगी निरीक्षण गर्ने क्रममा नेता नेपालमाथि ‘किन केही पनि सामान नल्याएको ?’ भन्दै तीन जना स्थानीय युवाले हातपात गरेको कुरा साँखुबाट ढिलोगरी प्राप्त खबरमा उल्लेख छ । अत्यधिक प्रभावित क्षेत्र भए पनि उद्धार र राहत पुर्याउन ढिलो गरेको भन्दै स्थानीयले नेता नेपालसँग आक्रोश पोख्दा त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । परिस्थितिलाई नियन्त्रणमा लिनका लागि महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नरहरि जोशी २५ थान पाल लिएर त्यहाँ पुगेका थिए । डीएसपीले लगिदिएका केही थान पाल वितरण गरेर वरिष्ठ नेता नेपाल त्यहाँबाट बल्लतल्ल उम्मेका थिए । ‘नेताज्यूलाई कसले हातपात गरेको ?’ भनेर प्रहरीले प्रश्न गर्दा ‘किन केही पनि नलिई आएको भन्दै उनीमाथि हामीले नै झम्टेका हौं’ भन्दै ती तिन जना युवा उफ्रिएका थिए । स्थिति तनावग्रस्त भएपछि प्रहरीले उनीहरुलाई त्यतिबेला पक्राउ गर्न सकेन । तर, अहिले चाहिँ महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरुको खोजी गरिरहेको बताइएको छ । भूकम्प प्रभावित केही क्षेत्रहरुमा सरकारले समयमै उद्धारकार्य र राहत सामग्री पु¥याउन नसक्दा पीडितहरुमा आक्रोश बढिरहेको छ । धेरैजसो ठाउँमा ‘माधव नेपालकै हालत हुने’ त्रास बोकेर अधिकांश नेता र मन्त्रीहरु यतिबेला ‘भूमिगत’ भएका छन् ।
माधप नेपाल माथि हातपात







