काठमाण्डु, नेपालका लागि अमेरिकि राजदूत विलियम पिटर बोडेले पर्यटनमन्त्री दिपक अमात्यलाई ‘ननसेन्स’ भन्दै झपारेका छन् ।
नेपालमा आएको महाभूकम्पका पीडितलाई राहत र उद्दार गर्न आएको अमेरिकी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न रोक लगाइएपछि आक्रोशित भएका राजदूत बोडेले एमाले नेताहरुकै अगाडि मन्त्री अमात्यलाई गालीको पर्रा छुटाएका थिए ।
स्रोतका अनुसार, विमान ल्याण्ड गर्न नपाएपछि सुरुमा उनी प्रधानमन्त्री सुशील कोइरालासमक्ष पुगेका थिए । प्रधानमन्त्री कोइरालाले राजदूत बोडेकै अगाडिबाट मन्त्री अमात्यलाई फोन गरेर विमान ल्याण्ड गर्ने व्यवस्था मिलाउन भनेका थिए । प्रधानमन्त्रीसँग उनले ‘हुन्छ’ त भने तर काम गरेनन् ।
प्रधानमन्त्रीभन्दा पनि समस्या समाधान नभएपछि उनी पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालकोमा पुगेका थिए ।
कसैले राजदूत बोडेलाई मन्त्री अमात्य खनालको पहिलेको पीए भएको र उनले खनालले भनेको हार्न नसक्ने बताएपछि उनी खनालकोमा पुगेका थिए ।
खनालले पनि उनकै अगाडिबाट मन्त्री अमात्यलाई फोन गरेर ‘दीपक, अमेरिकी विमान आउन बन्दोवस्त मिलाउ’ भनेका थिए ।
खनालसँगको कुराकानीमा पनि मन्त्री अमात्यले ‘हुन्छ’ भनेका थिए । तर, विमानले आउने स्वीकृति नै पाएनन् । त्यसपछि उनी प्रमुख राजनीतिक दलका अन्य शीर्ष नेताहरुकोमा पुगेका थिए ।
नेतारुसँगको कुराकानीमा आक्रोशित रुपमा प्रस्तुत भएका बोडेल मन्त्री अमात्यलाई ‘ननसेन्स’ भन्दै उसको कारण आफ्नो क्यारियरमा समेत असर पुगेको बिलौना गरेका थिए ।
सोर्स :काठमांडू टुडे
एक विश्वस्त स्रोतका अनुसार उनले नेताहरुसँग ‘म कस्तो राजदूत भएछु, आफ्नो देशको एउटा विमान यत्रो संकटका बेला पनि ल्याउन नसक्ने, मलाई मेरो देशको सरकारले के भन्ला ?’ भन्दै बिलौना गरेका थिए ।
राजदूत बोडे रिसाउनका खास कारण नेपालका भूकम्प पीडितका लागि रहत लिएर आएको विमान नेपालबाट स्वीकृत नपाएका कारण तीन दिनदेखि जापानमा होल्ड भएर बसेको थियो । त्यहाँ बस्दा दैनिक पाँच लाख डलर खर्च भइरहेको राजदूत बोडेले बताएका थिए ।
अमेरिकी विमानले बढी भार लिएर आएको भन्दै आउन अनुमति नदिएको बताइन्छ । उक्त विमानको भार क्षमता २ सय ६६ टन भएको बुझिएको छ । तर नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको भारवहन क्षमता १ सय ९६ टन छ ।
तर, बढी भारको कुरा मिथ्या भएको पनि राजदूत बोडेले नेताहरुसँग बताएका थिए । नेपालको विमानस्थलको क्षमता भन्दा बढी भार नल्याईएको भन्दै बोडेले यदि आफ्नो देशको विमानका कारण यहाँको विमानस्थलको घावन मार्गमा केहि टुटफूट भए आफुले बनाइदिने सम्म बताएका थिए ।
नेपालको विमानस्थलमा भारतीयहरुको दादागिरी चल्नु तर अमेरिकी सहायता बोकेर आएको विमान आउन नपाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मंगलबार विहानसम्म जापान मै रहेको सो विमान अहिलेसम्म आए नआएको थाहा हुन सकेन ।
यस बारेमा बुझ्न मन्त्री अमात्यलाई उनको मोबाइल नम्बर९८५१०७९५६२ मा फोन गर्दा उनकी पत्नीले फोन उठाएर ‘मन्त्री मोबाइल चार्जमा छाडेर बाहिर निस्केको बताइन् ।’







