लण्डन । नेपालमा कोरोना संक्रमण बढेसँगै अस्पतालमा बेड पाउन सकस भैरहेको । बेड अक्सिजनको अभाव खट्किएपछी बिरामी अस्पतालको आँगनमै सुत्न बाध्य छन् ।
होम आइसोलेसनमा बसेकि एक महिलालाई तीन दिनअघि पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । स्वास्थ जाँचपछि स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै चिकित्सकले उनलाई घरमै बस्नु भन्दै फर्काइदिएका थिए । ‘राति ११ बजेदेखि सास फेर्न गाह्रो भयो । घरमै अक्सिजन दियौं । सुधार नभएपछि अस्पताल ल्याउन एम्बुलेन्स खोज्यौं, कतै पाएनौं,’उनले भनिन्, ‘प्राइभेट गाडीमा घर नजिकैको पाटन अस्पताल पुर्यायौं । राख्ने ठाउँ छैन भनेर फर्काइदियो । अल्कामा गयौं, त्यहाँ पनि अक्सिजन छैन भनेर लिएन । बानेश्वरको सिभिलमा गयौं, त्यहाँ पनि बेड छैन भन्दै फर्कायो ।’
काठमाडौंका मुख्री ठुला अस्पतालहरुमा समेत बेड नपाएपछी अहिले उनी टेकु अस्पतालको आँगनमै सुतेकी छिन् । उनी जस्तै अस्पताल बाहिर सुत्नेको संख्या दैनिक बढ्दो रहेको निर्देशक डा सागरकुमार राजभण्डारीले बताएब।
कसैलाई प्लास्टिकको कुर्सीमा राखेर अक्सिजन दिइएको छ । कोही आफै ओछ्यान बोकेर आउँदै, भुइँमा सुत्छन् । सरकारले केही गरेन भन्दै आक्रोश पोख्छन् । स्वास्थ्यकर्मीहरु समय समयमा आएर ती बिरामीको दुखाइलाई केही हदसम्म शान्त बनाइरहेका छन् ।
एउटै परिवारका ५ जना नै थलिएर उपचार गराउन टेकु पुगेका थिए । संक्रमितको स्याहार गर्न पोजिटिभ नदेखिएका परिवारका सदस्यहरू पनि खटिइरहेका छन् । संक्रमितहरू काठमाडौं उपत्यकाका ठूला भनिएका निजी र सरकारी अस्पताल चहारेर कतै पनि भर्ना नपाएपछि टेकुमा पुग्छन् । स्वास्थ्य मन्त्रालयमा एम्बुलेन्स र बेडका लागि आग्रह गर्दा नजिकको अस्पतालमा जान जवाफ पाउने गरेको उनीहरू गुनासो गर्छन् ।
‘आईसीयू, जनरल वार्ड र इमर्जेन्सीका सबै बेड भरिएपछि बाहिर राखेर उपचार गर्नुको विकल्प नै नरहेको डा. राजभण्डारीले बताए । उनले भने, ‘यसरी बाहिरै राखेर उपचार गर्नुपर्दा मेरो पनि मन दुखेको छ ।’
स्वास्थ्य मन्त्रालयका अनुसार टेकुको आइसोलेसनमा ८५ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा १२ जना उपचारत छन् । संक्रमितको संख्या बढेपछि अक्सिजन चाहिने बिरामीले अस्पताल नपाउँदा ज्यान गुमाउने गरेका छन् । काठमाडौंमा आइतबार मात्रै ३ हजार १ सय ६१ जनालाई कोरोना पुष्टि भएको छ । भक्तपुरमा ५ सय ४ र ललितपुरमा ५ सय ३३ जनालाई कोरोना संक्रमण देखिएको छ । सरकारी र निजी अस्पतालमा बेड नपाएपछि बिरामीहरू घरमै फर्काएर लैजाने गरेका छन्






