डा. केसी, प्रतिपक्षीको आन्दोलन र स्वीस बैंकमा राखेको इलिगल पैसाबारे प्रधानमन्त्रीको जवाफ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर शनिबार बिहान स्वदेश फर्किएका छन् । डाभोस सहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राती त्यसतर्फ प्रस्थान गरेको थियो ।

शनिबार विहान स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई पत्रकाहरुले केही प्रश्न सोधे । पत्रकारहरुले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले यास्तो जवाफ दिए ।

प्रधानमन्त्रीज्यू तपाईंले स्वीट्जरल्याण्डमा रहँदाखेरि सेपीङ द फ्युचर अफ डेमोक्रेसीको सत्रमा सम्बोधन गर्नुभयो । त्यसमा चाहिँ तपाईंले अंगिकार गर्नु भएको सुरक्षा र सञ्चार नीतिका विषयमा केही अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाएका छन् ?

एउटा त मैले डाभोसमा सेपीङ द फ्युचर अफ डेमोक्रेसी अर्थात लोकतन्त्रको भविष्य त्यसलाई कस्तो आकारमा लाने भन्ने कुराको सन्दर्भमा जुन विचारहरु राखें त्यस सम्बन्धमा मैले विचार राख्नु भन्दा अगाडि वास्तविकता थाहा नपाएर गलत सुचना वा प्रचारको प्रभावको आधारमा अलिकति स्पस्ट हुन खोजेको हुनसक्छ ।

र, मैले स्पस्ट पारिसकेपछि त्यसमा कुनै प्रकारको अन्यथा बुझाइ रहने सम्भावना नै थिएन् । मैले लोकतन्त्रलाई राजनीतिक, आर्थिक र सामाजिक सबै क्षेत्रमा जनतालाई अधिकार सम्पन्न बनाउनुपर्दछ, निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि स्वच्छ निर्वाध ढंगले छान्ने प्रणालीलाई लोकतान्त्रिक प्रणाली भनिन्छ ।

तर लोकतान्त्रिक प्रणाली त्यतिमा मात्रै सिमित हुँदैन् । आ–आफ्ना प्रतिनिधि छान्ने, सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौम अधिकारको सिमितता होइन्, व्यापकता हुन्छ, सार्वभौमिकता हुन्छ । सार्वभौम जनता भनेको भोट दिने अधिकार राख्ने सार्वभौम जनता मात्रै होइन । सम्पूर्ण अधिकार, अवसर, सुरक्षा, सम्मानको उत्तिकै हकदार हुन्छ र सार्वभौमसत्ता सम्पन्न हुन्छ । प्रेसको सम्बन्धमा मैले प्रेस स्वतन्त्रताको कुरा गरे ।

प्रेस एउटा सम्मानित क्षेत्र हो, जनतालाई सूसुचित गर्ने, शिक्षित गर्ने यस्तो क्षेत्र हो र यस क्षेत्रमाथि कुनै प्रकारको थिचोमिचो, अधिकारको कटौती वा बन्देज हुनुहुँदैन भन्ने कुरा राखें ।

साथै प्रेस अत्यन्त महत्वपूर्ण कुरा भएको हुनाले प्रेसले त्यही महत्वका साथ जिम्मेवार भूमिका निभाउनुपर्ने कुरामा जोड दिएको हुँ । अरुको अधिकारको सम्मान, सम्मानको पनि सम्मान गर्नुपर्छ भन्ने हो । यसका अर्थ कसैप्रति अनुचित ढंगले गलत सुचना दिएर व्यक्ति, परिवार वा समाजलाई गलत सूचनाबाट हानी नपार्ने भन्ने हो ।

जसलाई एउटा पीत पत्रकारिता भन्ने पनि गरेका छन् । त्यस्तो पीत पत्रकारिता नगर्ने, मर्यादित बन्ने कुरा भएको हो । साथै मिडिया आवश्यक हुन्छ भन्ने कुरामा कसैको दुईमत रहनुपर्ने न कुनै ठाउँ छ, न त्यहाँ महत्व घटाइएको छ ।

स्वाधीनता, स्वतन्त्रता त्यस्ता कुरालाई सिमित वा नियन्त्रण गर्ने कुरा गरिएको छ । त्यसकारण कुनै त्यसमा भ्रममा पर्ने कुरा छैन् ।

प्रधानमन्त्रीज्यू, तपाईंचाहिँ स्वीट्जरल्याण्डको प्रथम भ्रमण गर्नुभयो । त्यसबाट नेपालको लागि नयाँ कुरा के–के ल्याउनु भएको छ । साथै स्वीस बैंकमा ५५ जना नेपालीले इलिगल पैसा राखेका छन्, त्यसका बारेमा के–के कुरा भयो ?

अर्को म स्वीटजरल्याण्ड गएको बैंकका खाताहरु हेर्न गएको थिइन । म स्वीटजरल्याण्डको डाभोसमा अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएको थिए । यी हल्लाहरुको सम्बन्धमा कति सही ढंगले, कति गलत ढंगले, कति के कारणले उठाइएका छन् । त्यसमा सत्यता कति छ, त्यो समयक्रममा अगाडि आउँछ । सरकारले सञ्चार माध्यममा आएका कुराहरुको जानकारी लिएको छ ।

तत्काल डाभोसबाट कुनै फाइदा लिन, कुनै सन्धि सम्झौता गर्नका लागि संसारको कुनै डेलिगेसन पनि गएको हँुदैन । त्यहाँ आजका राजनीतिक प्रवृत्तिहरु, आजका आर्थिक प्रवृत्तिहरु, आजका विभिन्न प्रकारका समस्याहरुको सम्बन्धमा छलफल गर्ने, दुनियाँ कहाँ छ, कस्तो अवस्थामा छ, हाम्रा हिजोका नीतिहरु, निर्णयहरु, वा तरिकाहरुको सफलता कति मिल्यो र अब भविष्यमा हामीहरुले कसरी अगाडि बढ्नुपर्छ ? दुनियाँ कसरी अगाडि जानुपर्छ भन्ने सम्बन्धमा विचार विमर्श गर्ने त्यो थलो हो ।

त्यसै प्रसङ्गमा हामीले विभिन्न व्यक्तित्वहरुसँग भेट्यौं, छलफल गरेको कुरा त परराष्ट्रमन्त्रीजीले राखी सक्नुभयो । त्यस बाहेक दक्षिण एशियाको अवस्था खुद नेपालको अवस्था दक्षिण एशिया सम्बन्धी हाम्रा दृष्टिकोणहरु, हाम्रा अपेक्षाहरु र हामी कसरी अगाडि बढ्छौ भन्ने संकल्प । त्यसैगरी लोकतन्त्रलाई कसरी बुझ्नुपर्छ अबको समयमा, लोकतन्त्र भनेको शक्तिको प्रर्दशन वा शक्तिको सञ्चय र त्यसको प्रयोग हो कि ?

लोकतन्त्र भनेको जनताका सार्वभौमसत्ता र जनताका लागि गरिने काम हुन् । त्यसलाई कसरी बुझ्ने, भन्ने विषय र अबको लोकतन्त्र कस्तो हुनुपर्छ भन्ने विषयदेखि अबको अर्थतन्त्र । चौथो औधोगिक क्रान्ति र अबको विश्वव्यापार र विश्वव्यापारमा देखा परेका प्रवृत्तिहरु । तिनीहरुको सम्बन्धमा अब कसरी अगाडि बढ्नुपर्छ ? आदि विषयहरुमा गहन छलफल भएका छन् र हामीले ती विषयहरुमा आफ्ना दृष्टिकोणहरु प्रस्तुत गरेका छौ । जुन दृष्टिकोणहरु महत्वपूर्ण छन् । सही छन् । यति भने पुग्छ ।

प्रधानमन्त्रीज्यू तपाईले डा. गोविन्द केसीसँग गरेको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित भएको छ । त्यसमा तोडमोड गरियो, त्यसलाई पूर्णता कार्यान्वयन गरिएन भनेर डा. गोविन्द केसीले तपाईंको राजीनामा समेत माग्नु भएको छ । साथै काँग्रेसले सडकदेखि सदनसम्म आन्दोलन गर्ने घोषणा गरिसकेको छ । यसलाई कसरी लिनुभएको छ ?

मुलुकमा के भयो भन्नेबारे म भर्खर आज आइपुग्दैछु । यताका कुराहरु मैले अलिक राम्ररी बुझ्नु पनि पर्छ । संवाद गर्नु, संवादबाट समस्याका समाधान गर्नु र तर्क तथ्यमा आधारित हुनपर्ने हुन्छ ।

आवेग उत्तेजनाबाट होइन देशको हितलाई सर्वोपरी राखेर, संविधान, कानुन र संस्थाहरुका मर्यादाहरुलाई सर्वोपरी राख्नै पर्छ ।

संविधानभन्दा माथि, कानुनभन्दा माथि कोही हँुदैनन् । कानुनका नजरमा सबै बराबर छन् र संस्थाहरुको हामीले मर्यादा गर्न सिक्नुपर्दछ भन्ने कुरा छँदैछ । र, अरु थप मैले अहिले भन्नुपर्ने जस्तो लाग्दैन् ।

प्रधानमन्त्रीज्यू, तपाई स्वीटजरल्याण्डमै हुँदा नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाको विषय र अमेरिकाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ती जारी गर्नुभएको छ । यहाँलाई त्योबारे अवगत छ भने यसमा सरकारको भनाई के हो ?

मैले सुनेको छु अलिकति तर म भर्खर मात्र स्वदेश आएको छु । नेपाल कस्तो देश हो भने एकपल्ट कोही भट्टराई लडेर घाइते हुनुभएछ, भट्टराई लडेर घाइते भनेपछि त्यसबेला कृष्ण प्रसाद भट्टराईजी प्रधानमन्त्री हुनुहुन्थ्यो । भट्टराई भन्ने वित्तिकै उहाँलाई बुझिने अवस्था, अब भट्टराई लडेर घाइते भनेपछि धुमधाम भयो, हामी पनि चिन्तित भयौं । के भएछ भनेर बुझ्नु त प¥यो, बुझ्दा त भट्टराई जीलाई त केही पनि थाहा छैन, भट्टराई त भट्टराई अर्कै भट्टराई पो हुनुहुँदो रहेछ । मिडियामा अस्ति मेरो फोटो समेतको जीप दुर्घटनामा संखुवासभामा निधन भन्ने तपाईंले पढ्नुभएको होला । यस्ता देशमा राम्ररी नबुझिकन, नपढिकन प्रतिक्रिया दिनु वाञ्छनीय होला जस्तो मलाई लाग्दैन ।

प्रमुख प्रतिपक्षी दल र डा. गोविन्द केसीको विरोधका बाबजुत चिकित्सा शिक्षा विधेयक पारित भएको छ । जसले मुडमेडको स्थिति सिर्जना हुने पनि सम्भावना छ । यसलाई कसरी लिनुभएको छ ?

यसमा धेरै चिन्तित भइरहनुपर्दैन् । कुनै पनि चिजको प्रक्रिया हुन्छ । सरकारले गर्ने कामको पनि प्रक्रिया हुन्छ, अरुको पनि प्रक्रिया हुन्छ । तपाईंहरुले जस्तो एउटा चिन्ता जाहेर गरिराख्नुभएको छ नि, त्यो चिन्ता जाहेर गरिरहनु पर्ने स्थिति छैन् ।

तीन करोड मान्छे भएका देशमा केही मानिसहरुमा अलिअलि असन्तुष्टिहरु हुन सक्छन्, केही चित्त नबुझेको हुनसक्छ । यस्तै कुराहरुलाई केही हामीले उधुम अब के–के न असन्तुष्ट भयो भनेर चिन्तित हुनुपर्ने अवस्था छैन् । अब लोकतन्त्रमा पक्ष–विपक्ष, अलिकति मतमतान्तर जस्ता कुराहरु साधारण हुन् । त्यसलाई त्यस्तै ढंगले, ठिकै ढंगले बुझ्न पर्छ भन्ने मलाई लाग्छ । म साथीहरुलाई धन्यवाद भन्न चाहन्छु धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *