गोर्खा सत्याग्रहले अनसन बस्ने चेतावनी दिंदै बृटिशसरकारलाइ बुझायो ज्ञापनपत्र (भिडियो सहित)

लन्डन ।गोर्खा सत्याग्रह अभियानले ब्रिटिश प्रधानमंत्रीलाई एक ज्ञापनपत्र पठाउंदै आफ्ना मागहरु पुरा नभए आफ्ना तीन जना सदस्यहरुले आउंदो जुलाई १ तारिखदेखि आमरण अनशन गर्ने चेतावनी दिएको छ। मंगलबार बिहान लन्डनको नर्थोल्टमा जम्मा भएर गोर्खा अभियन्ताहरुले प्रधानमंत्री बोरिस जोनसनलाई हुलाकबाट एक ज्ञापन पत्र पठाएका छन्।

गोर्खा सत्याग्रह अभियानका मुख्य संयोजक कृष्ण बहादुर राईले हस्ताक्षर गरेको पत्रमा ब्रिटिश सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिध हरु सम्मिलित संयुक्त प्राविधिक रिपोर्ट दुई सरकारहरुलाई बुझाइएको तीन वर्ष पुरा भै सकेको तर अहिले सम्म त्यसलाइ सम्बोधन गरिएको गुनासो गरिएको छ।

ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका मागहरुलाई सम्बोधन गर्न नेपाल तथा ब्रिटिश सरकारबीच एक वार्ता समिति गठन गर्न, वार्ता स्थल तोक्न तथा वार्ता समेत शुरु गर्न गोर्खा सत्याग्रहले माग गरेको छ। ज्ञापनपत्रमा १ जुलाई २०२१ सम्ममा आफ्ना मागहरु सम्बोधन नगरिए शुरुमा ज्ञान राज राई, धन बहादुर गुरुङ तथा श्रीमती पुष्प राना घलेले आमरण अनशन गर्ने र पछि अन्य अभियन्ताहरु पनि सहभागी हुने उल्लेख छ।

पत्रमा गोर्खा सैनिकहरुले ब्रिटिश इन्डिया र ब्रिटिश सरकारको लागि गरेको बलिदानीको प्रशंसा गर्ने गरिएको तर त्यस अनुसारको व्यवहार नभएको पनि जनाइएको छ। उक्त ज्ञापनपत्रबारे नेपाल सरकारलाई पनि जानकारी दिइएको छ।

हेर्नुस भिडियो –