बारा- अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाले जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीलाई सिमराको एक होटलबाट घूस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ।
अख्तियारका सूचना अधिकारी नरेन्द्रप्रसाद भट्टराईका अनुसार गढीमाई नगरपालिका १६ टाँगियावस्तीस्थित शान्ति प्राविका शिक्षक भवानी सुवेदीको २०७० सालको अन्तिम चौमासिकको तलब निकासा गर्न सिमराको झापाली होटलमा १० हजार घूस लिँदालिँदै पक्राउ गरिएको हो। उनलाई थप कारबाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं पठाइने उनले बताए।
मधेस आन्दोलन सुरु भएयता अधिकारी भण्डारीले कहिले हेटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालय त कहिले निजगढ र सिमरा मुकाम खडा गरी कर्मचारीलाई त्यही झिकाएर सेवाग्रहीको काम गर्दै आएका थिए।






