लण्डन । गैर आवासीय नेपाली संघ यूकेका उपाध्यक्ष नारायण कँडेलले भ्रष्टाचार तथा अनैतिकजन्य क्रियाकलापले बढावा पाएकाले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन रोकिएको जनाएका छन्।
कँडेलले काठमाडौंमा एक सञ्चारमाध्यम (Prime HD) सँग कुराकानी गर्दै एनआरएनएको दशौं महाधिवेशन सार्नुमा एनआरएनभित्र एकखालको भष्टाचारजन्य क्रियाकलापले स्थान पाएको बताएका हुन् ।
उपाध्यक्ष कँडेलले एनआरएन भित्र आइएलओ परियोजनामा भ्रष्टाचार भएको तथ्य छानबिन समितिको प्रतिवेदनले औंल्याएको बताए । आइएलोमा भएको अनियमिततामा आइसीसीका महत्वपूर्ण, माथिल्लो तहका पदाधिकारी जो चुनाव लड्दै छन् उनीहरु नै सहभागी भएको प्रतिवेदनमा उल्लेख भएको उनले बताए ।
‘त्यस विषयमा एनआरएनएले गठन गरेको छानबीन समितिले समेत भ्रष्टाचार भएको छ । मध्य पूर्वमा गठन गरेको समितिले आफन्तहरुलाई पैसा खुवाइएको प्रतिवेदनले निष्कर्ष निकालेको छ,’ उनले भने, ‘त्यसलाई परराष्ट्र मन्त्रालयको लेटर देखाएर पन्छाइएको छ ।’
कँडेलले राष्ट्रिय समन्वय परिषदहरुले पठाएका डेलिगेट्सहरुलाई मान्यता नदिनुमा पनि राजनीति घुसेको बताए । ‘युके, युएसए, अष्टेलियाका डेलिगेट्सलाई मान्यता नदिएर अधिवेशन स्थगित गरिएको छ । गत अक्टुबरदेखि आइसीसीको माथिल्लो लेवलमा बसेका पदाधिकारीको छानबिन समितिले कमजोरी औंल्याएको छ’, उनले भने, ‘भ्रष्टाचार रोक्न नसकेको आरोप उहाँहरुमा लागेको छ । हामी सुधार गर्ने अभियानमा छौं ।’
एनआरएनका केही पदाधिकारीहरुले राजनीतिक फाइदाका लागि, पदमा बस्नका लागि, निर्वाचित हुनका लागि जे पनि गरेको उनले टिप्पणी गरे । यस्ता खालका क्रियाकलापको आफूहरुले विरोध गर्ने र बर्खिलाप गर्नुपर्नेमा जोड दिए ।
महाधिवेशनको एउटा विवाद अहिलेको राष्ट्रिय समन्वय परिषद्बाट डेलिगेट्स चुन्ने कि एनसीसीले पठाएका डेलिगेट्सहरुलाई मान्यता दिने? भन्ने रहेको कँडेलले बताए । ‘आइसीसीभित्र रहेका एनसीसीले पठाएका डेलिगेट्सलाईमान्यता नदिने परिवर्तन गर्ने, नभएका सदस्य संख्या थपेर, ३ सय भन्दा बढी नक्कली सदस्य बनाएर डेलिगेट्स बनाइएको छ,’ उनले भने, ‘जहाँ उहाँहरु (संस्थापन) को वर्चश्व छैन, त्यहाँ विवाद निकाल्नुहुन्छ । अमेरिका, युके, अष्ट्रेलियामा झन्डै ५० हजार सदस्य छन् त्यहाँ उहाँहरुले विवाद झिक्नुभएको छ ।’
गैर आवासीय नेपाली संघको उद्देश्य पवित्र थियो तर, आइसीसीले एनसीसीलाई इग्नोर गरेर एनआरएनलाई कब्जा गर्ने उद्देश्य बनाएको भन्दै कँडेलले दुःख व्यक्त गरे । संसारभरका एनसीसीको विश्व भेलाले विधिभन्दा बाहिर गएर एनआरएनएलाई कब्जा गर्न पाइँदैन भन्ने सन्देश दिएको कँडेलले बताए । एनसीसीले पठाएका प्रतिनिधिलाई मान्यता दिएर छिटोभन्दा छिटो अधिवेशन गरौं भन्ने आफुहरुको माग रहेको उनले बताए । एनआरएनएमा भएका विकृति नसुधारेसम्म विश्राम नलिने कँडेलले बताए।
परराष्ट्र मन्त्रालय सम्बन्धित निकाय भएकाले उसले भनेको मान्नुपर्नेमा उनले जोड दिए । ‘महाधिवेशनमा आफ्ना प्रतिनिधि पठाउन नपाउने र पठाएका पनि सहभागी हुन नपाउने स्थिति आएकाले परराष्ट्र जान वाध्य भएका हौं । राष्ट्रिय समन्वय परिषद्ले पठाएका प्रतिनिधिले भाग लिन पाउनेगरी महाधिवेशन हुनुपर्छ,’ उनले भने ।
यो लिंकमा गएर पुरै अन्तर्वार्ता हेर्न सकिन्छ :






