आज देउवाले पाँचौ पटक प्रधानमन्त्रीको शपथ लिँदै, मन्त्रीमा क कसको छ चर्चा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक प्रधानमन्त्री बन्दै छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन लागेका हुन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार उनी आज अपराह्न ५ बजेभित्र प्रधानमन्त्री बन्नेछन् । राष्ट्रपति कार्यालयले सपथका लागि खबर गरिसकेकाले आजै ५ बजे सपथ ग्रहरणको तयारी भएको कांग्रेस नेताहरुले जनाएका छन् ।

आजै सानो आकारको मन्त्रिपरिषद्

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाउने तयारी गरेका छन् । आज कांग्रेस र माओवादी केन्द्रका केही नेतालाई मन्त्री बनाउने गृहकार्य भएको छ । यसको निर्णय सपथग्रहण अघि नै गठबन्धनको बैठक बसेर हुनेछ ।

जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव खेमा भने साउन ७ पछि मात्रै सहभागी हुने भएको छ । जसपाको विवादबारे सर्वोच्च अदालतले साउन ३ मा निर्णय दिने सम्भावना रहेकाले त्यसकै आधारमा अघि बढ्ने तयारी सो समूहले गरेको छ ।

गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुने वा नहुने भन्नेमा अनिर्णित छ । एमालेको नेपाल–खनाल समूहका नेता माधव कुमार नेपालले भने परिस्थितिमा बदलाव आएकाले आफू अब गठबन्धनमा पनि नरहने जनाएका छन् । यद्यपि उनले एमालेलाई पनि समेटर संयुक्त सरकार बनाउन देउवालाई सुझाव दिएको जनाइएको छ ।

काँग्रेसबाट को कस्को छ चर्चा ?

बालकृष्ण खाँड, मिनेन्द्र रिजाल, डा. डिला संग्रौला, प्रकाशमान सिंह, शशांक कोइराला, बिमलेन्द्र निधि लगायतले इच्छा ब्यक्त गरेका छन् ।

कोइरालाले आफू चिकित्सा क्षेत्रबाट आएकाले पनि स्वास्थ्य मन्त्रालय दिए सरकारमा सहभागी हुने बताएको स्रोतले जानकारी दियो। यस्तै खाँडले रक्षा तथा निधिले भौतिक पूर्वाधार मन्त्रालयमा इच्छा व्यक्त गरेका छन्।

माओवादीबाट को कस्को छ चर्चा ?

नेकपा माओवादी केन्द्र स्रोतका अनुसार पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, देव गुरुङ सरकारमा जान इच्छा ब्यक्त गरेका छन् ।