लण्डन । गैरआवासीय नेपाली संघ, बेल्जियमको महासचिब पदमा रमेश कंडेलले उम्मेद्वारी दिने भएका छन् ।
प्रवासको सहमतिय परम्परालाई निरन्तरा दिने बृहत सोच अनुरुप एनआरएनए बेल्जियमका अग्रज अभियन्ता, शुभेच्छु र अभिभावकहरुको सल्लाह र सुझावलाई मनन गर्दै एनआरएनएमा साझा उम्मेदवारको रुपमा उम्मेद्वारी दिन लागेको कंडेलले लण्डन नेपाल न्यूजलाई बताए ।
आगामी कार्यकाल २०२१–२०२३ का लागि उनले उम्मेद्वारी दिएको भन्दै आफूलाई जिताउन बेल्जियमबासी नेपालीहरुलाई आग्रह गरे । आफु सन् १९९९ मा बेल्जियम प्रबेश गरेसंगै तन, मन र धनले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय रहदै आएको उनले बताए ।
उनले आफ्नो उम्मेदवारी समग्र बेल्जियमबासी प्रवासी नेपालीहरुको उम्मेदवारी भएको समेत दाबी गरे ।
के के छन् उनका प्रतिबद्धता ?
उनले उम्मेद्वारी घोषणा गर्दैगर्दा केही प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।
- भविष्यमा प्रवासीहरुको संस्कृति, नेपाली भाषाको संरक्षणमा जोड दिने,
- युवाहरुका लागि नेतृत्व विकास र व्यक्तित्व विकासका लागि बिशेष खालका कार्यक्रम आयोजना गर्ने
- रआवासीय नेपाली संघलाई सबै प्रवासी नेपालीहरुको साझा संगठनको रुपमा बिकसित गर्ने र नेपालका सन्दर्भमा यस भेगमा प्रचार प्रसार गरी नेपालको पर्यटन व्यवसायलाई समेत प्रवर्धन गर्ने
- स्थानीय कलाकारहरुको संगठनसंग सहकार्य गरी कला, साहित्य र संगीत क्षेत्रलाई प्रवर्धन गर्ने, नेपाली युवा खेल
- यी बाहेक आवश्यकताअनुसार सबैसँग समन्यव गरेर अघि बढ्ने उनको भनाई छ ।
हेरौँ उनले जारी गरेको विज्ञप्ती
आदरणीय बेल्जियमवासी अग्रज, दिदीबहिनी तथा दाजुभाइहरु सबैमा हार्दिक नमस्कार,
प्रवासको सहमतिय परम्परालाई निरन्तरा दिने बृहत सोच अनुरुप एनआरएनए बेल्जियमका अग्रज अभियन्ता, शुभेच्छु र अभिभावकहरुको सल्लाह र सुझावलाई मनन गर्दै गैरआवासीय नेपाली संघमा साझा उम्मेदवारको रुपमा आगामी कार्यकाल (२०२१–२०२३) का लागि मैले पनि महासचिब पदमा आफ्नो उम्मेदवारी दिएको यहाँहरु समक्ष सहर्ष जानकारी गराउँद छु ।
आफु सन् १९९९ मा बेल्जियम प्रबेश गरेसंगै तन, मन र धनले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय रहदै आएको यहाँहरुलाई बिदितै छ ।
हामीले २००१ मा सामुहिक रुपमा संगठित भई नेपाली कला संस्कृतिलाई जीवन्त राख्न र चाँडवाडहरुलाई संयुक्त रुपमा मनाउन पहिलोपल्ट हिमालयन सोसाइटी नामक संस्थाको स्थापना गरेको र म उक्त संस्थाको संस्थापक उपाध्यक्षमा रही नेपाली समुदायलाई एक ठाउँमा ल्याउने जमर्को गरेका थियौ ।
त्यस वखत अहिलेको जस्तो सूचना प्रविधिको पहुँच नभएता पनि बेल्जियमबासी प्रवासी नेपालीहरुलाई नेपाल र समाज सम्वन्धी सूचना तथा जानकारी दिन साथीहरुको सहयोगमा ‘सँगालो’ नामक पत्रिका प्रकाशित गरी घरघरमा पुर्याउने काम गरेका थियौ ।
२००६ मा सँगालो रेडियो मार्फत घरबाटै युरोपभरीका नेपाली माझ सूचना र मनोरन्जन पुर्याउने काम गरियो ।
सोही समयमा एनआरएनए बेल्जियमको उदय भयो र मैले पनि सदस्यको रुपमा २ कार्यकाल पुरा गर्ने अवसर पाएँ ।
२००७ सम्ममा नेपाली समुदाय एक सशक्त समुदायको रुपमा स्थापित हुंदैथियो र त्यसैबिच नेपाली भाषा र साहित्यलाई समेत प्रचारप्रसार गर्नु पर्ने आवश्यकताको महशुस गरियो । मलाई पनि बरिष्ठ साहित्यकार कृष्ण बजगाईको अध्यक्षतामा ‘शब्दाञ्जली’ नामक साहित्यिक पत्रिका छापेर संस्थापक महासचिवका रुपमा साहित्य र समाजमा थप योगदान दिने मौका मिल्यो ।
युरोप बसाईको प्रारम्भिक समयमा सामाजिक क्षेत्रमा सक्रिय रहेता पनि विविध कारणले केही समय सक्रिय रहन सकिन । फेरी २०१४ मा ब्रुजवासी नेपाली समुदाय, त्यसमा पनि बिशेषतः नेपाली युवाहरुले बालबालिकाको खेलकुद, कला र संस्कृतीको उत्थान हेतु ‘हाम्रो क्लब’ को संस्थापक अध्यक्षको नेतृत्वदायी भूमिका निर्वाह गर्दै स्नुकर टुर्नामेन्ट, सिन्तरक्लास कार्यक्रम, सँगित कक्षा र नृत्यकक्षा लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिने कार्य गरियो ।
यसका बावजुत बेल्जियमको स्थानीय राजनीतिमा समेत सहयोग गर्ने अभिप्रायले बेल्जियमका युवाहरुलाई उचित साथ, सहयोग गर्दै आईयो ।
आगामी दिनहरुमा गैरआवासीय नेपाली संघ मार्फत प्रबासी नेपालीहरुको आर्थिक, सामाजिक र साँस्कृतिक कार्यमा सहयोग पुर्याउदै सबैको सेवा गर्ने सोच अनुरुप यहाँहरुको सल्लाह र सुझावद्धारा मैले गोविन्द (सीपी) भट्टज्युको नेतृत्वमा लोकतान्त्रिक समाबेस समुहको तर्फवाट महासचिब पदमा उम्मेदवारी दिएको छु ।
मेरो उम्मेदवारी मेरो नभई समग्र बेल्जियमबासी प्रवासी नेपालीहरुको उम्मेदवारी भएको मैले महशुस गरेको छु ।
भविष्यमा प्रवासीहरुको संस्कृति, नेपाली भाषाको संरक्षणमा जोड दिने, युवाहरुका लागि नेतृत्व विकास र व्यक्तित्व विकासका लागि बिशेष खालका कार्यक्रम आयोजना गर्ने, गैरआवासीय नेपाली संघलाई सबै प्रवासी नेपालीहरुको साझा संगठनको रुपमा बिकसित गर्ने र नेपालका सन्दर्भमा यस भेगमा प्रचार प्रसार गरी नेपालको पर्यटन व्यवसायलाई समेत प्रवर्धन गर्ने, स्थानीय कलाकारहरुको संगठनसंग सहकार्य गरी कला, साहित्य र संगीत क्षेत्रलाई प्रवर्धन गर्ने, नेपाली युवा खेल र एनआरएनए जस्ता कार्यक्रमलाई अघि सार्ने छु । हाम्रो समुहको प्रतिबद्धता सम्वन्धी घोषणा पत्र चाडैनै सार्वजनिक गर्ने छौ ।
यहाँहरुको सहयोग, आशिर्वाद, सद्भाव र समर्थनको अपेक्षा गरेको छु ।
रमेश कंडेल
महासचिबको उम्मेदवार (२०२१–२०२३)
गैरआवासीय नेपाली संघ, बेल्जियम






