लण्डन ।वरिष्ठ लाेकगायक बमबहादुर कार्कीका दम्पतीले कोरोना भाइरसविरुद्ध ‘के होला दवाई’ नामक गीत ल्याएका छन् । गायक कार्की र उनकी धर्मपत्नी गायीका शिवा (आले) कार्कीको युगल आवाज उक्त गीतमा रहेको छ । साथै, गीतमा गायक कार्कीको शब्द रहेको छ भने गायीका आलेको संगीत रहेको छ । मारुनी डिजिटल स्टुडीयोमा रेकर्ड गरेको गीत कमल सौरागले संगीत संयोजन गरेका छन् ।
त्यस्तै, गीतको भिडियोलाई गायक बमबहादुर कार्कीकै युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सो भिडियोमा गायक गायीका दम्पती नै देखिएका छन् । चीनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोरोना अहिलेसम्म त्यसको औषधि पत्ता नलागेको अवस्थामा ‘के होला दवाई’ नामक गीत ल्याएको गायक कार्कीले जानकारी दिए । कोरोनाको प्रकोप पछिल्लो समय नेपालमा तीव्र गतिले बढिरहेको छ ।हेर्नुहोस यस्तो छ भिडियो:
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लगाएको लकडाउनका कारण सबै कलाकारहरु विगतमा जस्तो स्वदेश तथा विदेशका कार्यक्रममा जानबाट रोकिएका छन् । यस्तै समयमा भएपनि कतिपय कलाकारले भने शन्देशमूलक गीत ल्याएका छन् । २०३९ सालबाट गायन क्षेत्रमा प्रवेश गरेका वरिष्ठ गायक कार्कीले अहिलेसम्म ८२ वटा एल्बम बजारमा ल्याएको बताए ।
त्यसमध्ये ‘भेटै नहुने, खोला पारी निरमाया वारी मरुने’ गीत आफ्नो मात्रै पहिलो नभई नेपालकै पहिलो लोकदोहोरी क्यासेट भएको उनले बताए । गायक कार्कीको गीत ‘पानको पात’ त्यो बेलादेखि नै सर्वाधीक चर्चामा रहेको छ । आफूले गाएका गीतमध्ये स्वर्गीय जननेता मदन भण्डारीको सडक दुर्घटनामा निधन भएको घटनाबारे निकालिएको ‘दास ढुंगा’ क्यासेट सबैभन्दा बढी बजारमा बिक्री भएको कार्कीले जानकारी दिए ।
आफ्ना ८२ वटा एल्बमभित्र लोकगीत, लोकदोहोरी, लोकभजन, देउसीभैलो, तीज गीत लगायत विभिन्न जनचेतनामूलक गीत रहेको उनको भनाइ छ । गुल्मी जिल्लाको घमिर गाउँपालिका– ७ मा जन्मिएका वरिष्ठ गायक कार्की रेडियो नेपालको विभिन्न कार्यक्रममा २९ वर्ष आवद्ध, लण्डनबाट प्रशारित बीबीसी नेपाली सेवामा समाचार प्रशारकका रुपमासमेत आवद्ध भएका थिए । साथै, सरकारी सेवा निवृत्त निजामती उपसचिवमा पनि दश वर्ष कार्यरत भएको उनले जानकारी दिए ।






