अदालतले भनेअनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त, कहिले कहिले भए प्रधानमन्त्री ?

काठमाडौं । सोमबार सर्वोच्च अदालतले दिएको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

केहीबेर अघि उनले नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवा प्रधानमन्त्री नियुक्त भए पनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।

देउवा अहिले गठबन्धनसँग छलफलमा व्यस्त छन् । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।

यो सँगै देउवा पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत नपाए पनि उनकै नेतृत्वमा मुलुक चुनावमा जाने छ।

देउवा पहिलो पटक २०५२ सालमा त्यसपछि २०५८ साल, २०६१ साल तथा २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए । ६४ सालमा चुनावी सरकारको नेतृत्व गरेका उनले यसपटक पनि चुनावी सरकारसम्मकै नेतृत्व गर्ने सम्भावना रहेको छ।