भिरमा भेटियो चितवनकी सुजिताको शव, स्थानीयको प्रदर्शन, राजमार्ग अवरूद्ध

चितवन। अपहरणमा परेको भनिएकी चितवन राप्ती नगरपालिका ३ प्रगतीपुर की २२ वर्षीया सुजिता भण्डारी मृत अवस्थामा फेला परेसँगै उनको हत्या भएको भन्दै आफन्तले प्रदर्शन गरेका छन् ।

हत्यारालाई तुरुन्त पक्राउ गरी कारवाही गर्न माग गर्दै उनीहरुले पूर्व–पश्चिम राजमार्ग नै अवरूद्ध गरेका छन् । भण्डारी बेपत्ता भएकोबारे प्रहरीलाई खबर गरे पनि समयमै खोजबिन नगरेको आरोप स्थानीयहरूको छ। उनीहरूले पूर्वपश्चिम राजमार्गको गड्यौलीमा ट्रक र ढुंगामुढा तेर्साएर अवरोध गरेका छन्।

प्रहरीले घटना सामसुम पार्न खोजेको आरोप लगाउँदै उनीहरूले भण्डारीको शव नबुझ्ने बताएका छन्। भण्डारीको घरबाट करिब ४ किमी पर ब्रम्हस्थानी सामुदायिक वनको खोल्सामा उनको शव भेटिएको थियो ।

असार ११ गते बिहान तरकारी किन्न निस्किएकी उनले दिउँसो सवा १२ बजे दिदी कवितालाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताउँदै आएको थियो ।

परिवारले अपहरण भएको भन्दै केहिदिन पहिले प्रहरीमा उजुरी पनि गरेका थिए । ३ जनाले अपहरण गरेको आशंका परिवारले गरेको थियो ।

उनी घरबाट निस्किएको केही बेरमै उनको फोन अफ भएको थियो । त्यसपछि केही बेरमा मिस्कल आएपछि कल ब्याक गर्दा आफू अपहरणमा परेको बताएकी थिइन् ।

आइतबार दिउँसो भेटिए पनि परिवारले साँझमात्रै शव सुजाताकै भएको भनेर सनाखत गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल जान लागिएको छ । तर आफन्तले शव बोकेको एम्बुलेन्स नै रोकिदिएका छन् ।

उनको खोजविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको थियो । सोही टोलीले घटनाको अनुसन्धान गर्नेछ । घटनाबारे प्रहरीले अन्य कुनै सुराकी फेला पारेको सार्वजनिक गरेको छैन ।

स्थानीय रामेश्वर सेन्चुरीका अनुसार राजमार्गबाट साढे तीन किमी पर उनको शव फेला परेको थियो ।