कोभिडविरुद्ध लड्न नेपाली सेनालाई अष्ट्रेलिया सरकारको स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । अष्ट्रेलिया सरकारले कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत फिलिसिटी जाने भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रमकावीच बलाधिकृत रथी प्रभुराम शर्मालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिन् ।

दक्षिण एसियाका राष्ट्रहरुलाई सहयोग गर्ने अभियान अन्तर्गत नेपाललाई सहयोग प्रदान गरिएको अष्ट्रेलिया सरकारले जनाएको छ ।

नेपालमा कोभिड १९ को प्रतिकार्यको निम्ती नेपाली सेनाले गर्दै आइरहेको कामको सहयोग पुर्याउने हेतुले सर्जिकल मास्क, फेशशिल्ड र पञ्जाहरु लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

सो अवसरमा रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोग प्रति आभार व्यक्त गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत् स्वास्थ्य सामग्री शनिवार स्वदेश ल्याइएको सेनाले जनाएको छ । यसअघि पनि अष्ट्रेलिया सरकारले नेपाललाई ७० लाख डलर बराबरको सहयोग उपलब्ध गराएको थियो ।