जसपाका महतोसहित १० मन्त्री नियुक्त, एमाले ४ जना बाहेक सबैको पद चैट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको ब्यापक फेरबदल गरेका छन् ।
नेपालको महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुको आज ८ वजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका हुनुहुन्छ । उनीहरुले कुनकुन मन्त्रालय पाए भन्ने जानकारी शपथग्रहणको समयमा गराउने नेता लक्ष्मणलाल कर्णले बताए ।
स्रोतका अनुसार राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत, अनिल झा, खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् ।
सरकारसँग लामो समयको वार्ता र सहमति पछि जसपाको ठाकुर पक्ष एकपक्षीय रुपमा सरकारमा जान लागेको हो । जसपाको उपेन्द्र पक्ष भने सरकारको विरुद्धमा छ । जसको कारण जसपा फुट्ने घोषणा मात्र गर्न बाँकी रहेको देखिन्छ ।
एमालेका ४ जनाबाहेक सबै पदमुक्त 
यस्तै प्रधानमन्त्री ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गरेका छन् ।
अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएको स्रोतले बतायो । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँन लागेका छन् ।
त्यस्तै एमाले महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने बताइएको छ । उनले प्रधानमन्त्री ओलीसँग आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेको निकट स्रोतले जनाएको छ ।
पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् भने रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ। त्यस्तै शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् ।