अष्ट्रेलियामा नेपाली वैज्ञानिक डा. अधिकारी : क्यान्सरको अनुसन्धान नयाँ उचाइमा पुर्याउने प्रयास

तक्दीर अधिकारी
सिड्नी । साढे ४ बर्षअघि विद्यावारिधी गर्न अष्ट्रेलिया आएका नेपाली वैज्ञानिक डा. सुवास अधिकारी क्यान्सरसम्बन्धी रोगको अनुसन्धानमा नयाँ उचाई कायम गरेका छन् । एनआरएनए अष्ट्रेलियाले प्रदान गर्ने एकाडमिक एचिभमेन्ट अवार्डमार्फत सम्मानित भएका अधिकारी सन् १९८९ मा बाबु शेखर अधिकारी र आमा सरस्वती अधिकारीको कोखबाट जन्म लिएका थिए । कास्की जिल्ला साविकको मिजुरेडाँडा गाविस ६ गोर्जे डाँडाथोक हालको मादी गाउँपालिका ९  बाट उनीहरु पोखरा स्थायी रुपमा बस्ने गरी बसाईसरी आएका थिए ।

कक्षा १२ को अध्ययन सकेपछि थप अध्ययनको निम्ती भारत गएका उनले ब्याङ्गलोेर यूनिभर्सिटीमा बायोटेक र केमेस्ट्रीमा स्नातक सके । त्यसलगत्तै मास्टर्सको अध्ययन यूनिभर्सिटी अफ बन जर्मनी र क्यारोनास्का यूनिभर्सिटी स्विडेनबाट मोलिक्युलर बायोटेक विषयमा पूरा गरे । धेरै मानिसहरुको समस्याको रुपमा रहेको क्यान्सरको उपचारमा टेवा दिने उद्धेश्य सहित उनले क्यान्सर प्रोट्योमिक्समा थुप्रै अनुसन्धानहरु गरेका छन् । जर्मनी र स्विडेनमा स्नातकोत्तर सम्पन्न गरेपछि उनी छात्राबृतिमा थप अध्ययनको निम्ती अष्ट्रेलिया ४ बर्षअघि आएका हुन् । वैज्ञानिक अधिकारीले सन् २०१९ मा विद्यावारिधीको उपाधि हासिल गरे ।

लण्डन नेपाल न्यूजसंगकोे कुराकानीमा उनले भने, “मलाई पहिल्यैदेखि विज्ञान र स्वास्थ्य क्षेत्रमै रुचि थियो, त्यसैमाथि क्यान्सरका धेरै प्रकारहरु हुने र यसबाट धेरै मानिसहरु प्रभावित हुने भएको कारण यही विधामा अध्ययन अघि बढाउने निर्णय गरेँ ।” बाबु आमा पनि शिक्षणमा संलग्न रहेको कारण उनलाई अध्ययनमा प्रेरणा मिल्यो । जर्मनी र स्विडेनमा स्नातकोत्तर गरेपछि उनलाई चीनमा रिसर्च साइन्टिस्टको रुपमा जागिरको अफर पनि आएको थियो । तर उनले अष्ट्रेलियामा छात्राबृतिमा पिएचडी लिने अवसर पाए ।

अधिकारीले क्यानसरकोे उपचारमा विशेष योगदान दिन चाहना राख्छन् । मानिसमा क्यान्सर रोग देखा पर्नुअघि शरीरमा प्रोटिन असामान्य भएका हुन्छन् । ती असामान्य प्रोटिनले भविष्यमा देखाउन सक्ने रोगको सम्भावनाको विषयमा अनुसन्धान गर्नु उनको मुख्य विषय हो ।  अष्ट्रेलियामा बसेर थप ज्ञान सीप तथा अनुभव संगाल्ने र भवियमा स्वदेशको स्वास्थ्य क्षेत्रमा योगदान दिने उनको उद्धेश्य छ । “केही बर्ष यतै हुन्छु,पिएचडी सकिएपनि थप ज्ञानको लागि यहाँ बस्न पर्छ ।” उनले भने, “यहाँको अध्ययन पुरा भयो भने जता पनि जान सकिन्छ ।”  उनले नेपालमा यस विधामा अध्ययन अनुसन्धान अहिलेसम्म नभएको सुनाए । नेपालमा उपकरणहरु लिन निकै महङ्गो भएको कारण यसको अनुसन्धान भएको छैन। उनले भने,’ सरकारले अ्रध्ययन शुरु गर्न चाहेको खण्डमा हाम्रो तर्फबाट योगदान जति पनि गर्न सकिन्छ ।’

‘नेपालमा श्रोत र साधनको अभाव मात्र छैन, प्रक्रियागत कठिनाई पनि छ’ , उनले भने, ‘त्यसैमाथि विद्यार्थीहरुमा सिलेबस मात्र अध्ययन गर्ने, रिसर्चमा ध्यान कमै दिने प्रचलन रहेकोले पनि नेपालमा यसमा अनुसन्धानको वातावरण बनेको छैन । ‘ यसप्रकारका प्रोजेक्ट गर्न गैरआवासीय नेपाली संघ एनआरएनले सामथ्र्य राख्न सक्ने उनले बताए । “विश्वभर फैलिएको नेपालीहरु संलग्न रहेको सबैभन्दा ठूलोे सम्भवः एनआरएनए नै हो,” उनले भने, “नेपालको स्वाथ्य क्षेत्रमा क्यान्सर प्रोट्योमिक्सको अध्ययनमा यस संस्थाले पहलकदमी पनि लिनुपर्छ ।”

अध्ययनको निम्ती अष्ट्रेलिया आउने नेपालीहरुको संख्या बढीरहेको अवस्थामा पछिल्लो क्रममा विभिन्न क्षेत्र तथा विधामा काम गरेर नया स्टाटस रच्ने नेपालीहरुको संख्या बढ्दै गएको देखिन्छ ।

यो पनि एनआरएनए अष्ट्रेलियाद्वारा १३ नेपाली विद्यार्थीहरुलाई एकाडमिक एक्सिलेन्स अवार्डद्वारा सम्मान