लण्डन । गैरआवासीय नेपाली संघ, यूकेको उपाध्यक्ष पदमा युवा नेता रिचर्ड गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । युवामाझ लोकप्रियता हासिल गर्न सफल भएका एनसीसी यूकेको सल्लाहकार समेत रहेका गुरुङले आगामी कार्यकाल २०२१–२०२३ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
२०१७–२०१९ मा पनि सल्लाहकारको रुपमा भूमिका निभाएका उनले युवा संयोजकको रुपमा पनि नेतृत्व गरेका थिए । उक्त नेतृत्वको क्रममा युवाहरुको मन जित्नेगरी काम गरी उनी भूपू सैनिक समेत हुन् । बेलायती सेनामा २२ वर्ष सेवा पूरा गरी एक महिना अघि सेवा निवृत्त भएका गुरुङ सेवामै रहँदा पनि एनआरएन अभियानमा सक्रिय थिए ।
सैन्य सेवासँगै समाजसेवा पुर्खौली घर खोटाङ कोलडाँडा (हाल तरहरा सुनसरी) निवासी गुरुङ सन् १९९९ मा ब्रिटिश आर्मीमा भर्ती भएका थिए । ब्रिटिश आर्मीमा रहँदा पनि उनी निरन्तर गैरआवासीय नेपाली संघमार्फत बेलायतमा नेपाली समुदायको हितमा सक्रिय थिए । सैन्य सेवामा रहेकै बेला २०१५–१७ मा उनी एनआरएनए युकेको युवा संयोजक रहेका थिए । बेलायतवासी नेपाली युवा पुस्ताका बीचमा लोकप्रिय गुरुङ २०१७–१९ एनसीसीको सल्लाहकार रहेका थिए । एक कार्यकालको अन्तरमा उनी अहिले पनि एनसीसीको सल्लाहकार छन् ।
विगतमा सैन्य सेवामा रहेकाले क्रियाशील पदमा सहभागी हुन नपाएको र अहिले सेवा निवृत्त भइसकेकाले सक्रिय पदमा उम्मेदवार बन्न लागेको उनले बताए । युवाहरुबीच लोकप्रिय युवाहरुका बीचमा बढी रमाउने गुरुङ नेप्लिज युथ यूकेका संस्थापक अध्यक्ष हुन् । युवा परिचालन तथा सहभागितामा सामाजिक कार्यमा सक्रिय गुरुङ युवा समाजसेवी तथा सामाजिक अभियन्ताका रुपमा पनि चिनिन्छन् ।
युवा पुस्ताको साथ र अग्रजहरुको सहयोगमा उपाध्यक्ष पदमा निर्वाचित हुने उनको विश्वास रहेको छ । उपाध्यक्ष पदका उम्मेदवार रिचर्ड गुरुङले अध्यक्ष पदमा भने प्रेम गाहा मगरलाई समर्थन रहने जनाए । गाहा मगरको टिमबाटै उपाध्यक्ष पदमा निर्वाचनमा उत्रिने गुरुङले बताएका छन् ।
‘हाम्रो टिमको अभियान नै बर्तमान समयमा युवाहरुलाई प्रोत्साहन गर्नु हो’, उनले लण्डन नेपाल न्यूजसँग भने, ‘हरेक पिँढीको उत्थानको क्रममा देश समाज हाँक्ने महत्वपूर्ण पक्ष युवा हो, हामी उहाँहरुको वृत्तिविकासको निम्ती अझै काम गर्छाैँ ।’ उनले आफूहरुले उम्मेद्वारी दिएपछि धेरै एनआरएनहरुको सद्भाव पाउँदा निकै हर्ष अनुभव भएको बताए ।






