प्रधानमन्त्री देउवासँग अन्तरवार्ताः ‘भुपु गोर्खाहरुको माग सम्बोधन गर्न बेलायत सकारात्मक छ’ (भिडियो)

लण्डन । नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले भुपु गोर्खाहरुको माग सम्बोधन गर्न नेपाल र बेलायत दुवै सरकार सकारात्मक रहेको बताएका छन् ।

लण्डन नेपाल न्यूजसँग कुराकानी गर्दै उनले बेलायतबासी सबै नेपालीहरुप्रति नेपाल सरकारको सदभाव रहेको भन्दै पछिल्लो समय अनशन बसेको समयमा सरकारले माग सम्बोधन गर्न पहल लिएको बताए ।

उनले यस विषयमा बेलायत सरकारसँग पनि कुरा भइरहेको र व्रिटिश सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको समेत बताए ।

गोर्खाहरुको माग पुरा गर्न बेलायती सांसदहरुलाई आग्रह गरेको भन्दै उनीहरुले माग सम्बोधन हुने बताएको जानकारी दिए ।

उनले एनआरएनएहरुलाई नागरिकता दिइने बताए । उनले भने, ‘गैरआवासीय नेपालीहरुले नागरिकता नपाउने कुनै छैन, उनीहरुले पाइहाल्छन् नागरिकता ।’

नेपालीहरु जहाँसुकै रहेपनि नेपाल र नेपालीप्रति उनीहरुले देखाएको सद्भावनाप्रति उनी खुशी प्रकट गरे । नेपालमा विदेशी लगानीको वातावरण एकदमै राम्रो भएको बताउँदै देउवाले जलविद्युतको सम्भावना प्रचुर रहेको बताए । ‘नेपालमा हाइड्रो, इलेक्ट्रिक कार र चुल्हो बनाउन सक्छौं । हामीले फोसिल फ्युलको विकल्प खोजिरहेका छौं’ उनले भने ।

प्रदूषणमुक्त क्षेत्रमा नेपालमा लगानीको सम्भावना रहेको उनले बताए । वनक्षेत्र ५० प्रतिशत बढाउने योजना सरकारले गरिरहेको उनले बताए । उनले अस्थिर सरकारले विदेशी लगानी गर्न कुनै बाधा नभएको बताउँदै भने, ‘नेपालको कानूनले विदेशी लगानीलाई स्वागत गर्छ र विदेशी पैसा खेर जान दिँदैन । सरकार आउने जाने कुराले फरक पर्दैन’ ।

बेलायतमै अध्ययन गरेको र प्रधानमन्त्रीको रुपमा बेलायत जाँदा घरमा आएजस्तो महसुस भएको उनले बताए । उनले यहाँ रहेका नेपाली तथा बेलायतीहरुसँग पनि आफ्नो राम्रो उठबस रहेको पाँचौ पटक प्रधानमन्त्री बनेर यहाँ आउँदा निकै खुशी लागेको बताए । उनले यहाँ रहेका सबै नेपालीहरुसँग भेट्न नपाएकोमा माफी समेत मागे ।

उनले यूकेमा आउँदा आफ्नै घर आएको जस्तो महसुस भएको बताए ।

उनीसँगको पूरा अन्तरवार्ता हेर्नुहोस् ।

https://www.facebook.com/londonnepalnews/videos/1878236242356352