काठमाडौँ । नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ ।
दश लाख खोपका मात्रामध्ये आज नौ लाख मात्रा नेपाल ल्याइएको हो । हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल वायुसेवा निगमको जहाजमार्फत आठ लाख मात्रा खोप ल्याइएको हो ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० (वाइडबडी) ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिए । उनका अनुसार उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानी बेइजिङ उडेको थियो ।
बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ । एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ती दुई लाख मात्रा खोप निः शुल्क ल्याइने जनाएको छ ।
यसैसाता राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादपछि चिनियाँ समकक्षी सी जिङपिङले नेपाललाई कोभिड-१९ महमारीविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।
चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार उच्च जोखिम समूहमा रहेकालाई खोप उपलब्ध गराइनेछ । ‘खोप आएलगत्तै कुन समूहलाई लगाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्नेछ,’ उनले भने, ‘सम्भवतः ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने सम्भावना बढी रहन्छ । खोप थप सुनिश्चितता भए ठूलो संख्यामा लगाउन सकिनेछ ।’
डा.पोखरेलका अनुसार संक्रमण जोखिम हेरेर ठाउँ विशेषमा खोप लगाउन सकिने र राष्ट्रिय खोप कार्ययोजनाअनुसार अभियान अघि बढ्नेछ ।
खोप उपलब्धता आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये ‘कसलाई पहिले दिने ?’ भन्ने तय गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६५ वर्षमाथि ९ लाख बढी र झन्डै साढे १४ लाख ज्येष्ठ नागरिक दोस्रो मात्रा खोपको पर्खाइमा छन् ।






