सिड्नी । न्यू साउथ वेल्समा पहिलो पटक हजारौं मात्रामा कोभिड संक्रमितहरु फेला परेका छन् ।
सरकारले दिएको जानकारी अनुसार वितेको २४ घण्टामा ३ हजार ५७ जना संक्रमित भेटिएका छन् । जसमा २८४ जना अस्पतालमा भर्ना भएका छन् ।
मानिसहरुले क्रिसमस पर्व मनाउने तयारी गरिरहेको अवस्थामा यति धेरै मात्रामा संक्रमित भेटिएका हुन् ।
अष्ट्रेलियामा पहिलो पटक ३ हजार भन्दा धेरै संक्रमितहरु एकैदिन भेटिएका हुन् ।
जसमा अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको छ । अघिल्लो दिन २६१ जना अस्पतालमा रहेकोमा अहिले त्यो संख्या बढेर २८४ पुगेको छ । ३९ जना बिरामीहरु आईसीयूमा छन् ।
न्यू साउथ वेल्सका प्रिमियर डोमोनिक पेरोटेटले अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई भेटेर शान्त रहन र चिन्ता नगर्न आग्रह गरेका थिए ।
सरकारले जनतालाई सुरक्षित पनि राख्ने र अर्थतन्त्र पनि मजबुत गराउने गरी कोभिड विरुद्ध लड्ने अभियान चलाइरहेको भन्दै उनले अघि भने, यो महामारी यतिकै सकिदैन, हामीले यससँगसँगै बाँच्न सिक्नुपर्छ ।
डिसेम्बर १५ मा प्रतिबन्धहरु खुकूलो बनाएपछि सरकार र स्वास्थ्य अधिकारीहरु बढी सचेत देखिएका छन् ।
सरकारले कोभिड विरुद्धको भ्याक्सिनलाई तिव्रता दिइरहेको अवस्थामा १५ डिसेम्बरबाट अन्तराष्ट्रिय नाका समेत खोल्ने घोषणा गरेको थियो । जसनुसार अन्तराष्ट्रिय विद्यार्थीहरुसहित विभिन्न भिजाबाहकहरु अष्ट्रेलिया ओर्लिरहेका छन् ।
क्रिसमसको समय रहेको कारण यस अवधिमा कोरोना संक्रमण बढ्न सक्ने भन्दै चिन्ताहरु व्यक्त भइरहेका छन् । यस अवस्थामा सचेत रहेर पर्व मनाउन सरकारले अपिल गरेको छ ।







