लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सचिब पदमा पर्वतका दुर्लुङका विशाल गुरुङ उर्फ ‘विकास रक’ले उम्मेद्वारी दिने घोषणा गरेका छन् । एनआरएनए यूकेको ३१ जुलाईमा हुन गइरहेको उक्त निर्वाचनमा २०२१-२०२३ कार्यकालको लागि सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेको उनले लण्डन नेपाल न्यूजलाई बताए ।
तमु धिं लन्डन इकाईका महासचिव समेत रहेका उनी दुर्लुङ समाज यूकेका कोषाध्यक्ष तथा पर्वत वेलफेयर सोसाइटीको कार्यसमिति सदस्यको रुपमा समाजसेवा गरेका छन् ।
उम्मेदवारी घोषणाबारे लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारीसँग कुरा गर्दै उनले भने, ‘हालसम्म विभिन्न नेपाली सामुदायिक संघसंस्थाहरुमा रहेर काम गरेको अनुभव मैले एनआरएनए मार्फत प्रस्तुत गर्न चाहान्छु, जे गर्छु अब एनआरएनए मार्फत सबै नेपाली र एनआरएनहरुको भलाईको निम्ती गर्छु भन्ने अठोटसहित सचिव पदमा उम्मेदवारी दिएँ।’ उनले आइतवार सामाजिक सञ्जाल मार्फत पनि उम्मेद्वारीबारे जानकारी गराएका थिए ।
उम्मेदवारी घोषणासँगै विकासले “हामी सबैको एनआरएनए राम्रो र स्वच्छ एनआरएनए” नारा तय गरेको बताए । आफ्ना मुद्धाहरुमा प्रतिबद्धता जनाउँदै उनले बेलायतवासी नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा आफूलाई भोट गरी सहयोग गर्न समेत अनुरोध गरेका छन् । साथै एनआरएनए यूकेको सदस्यता लिन पनि उनले आग्रह गरेका छन् ।
एउटा समाजमा मात्र रहेर भन्दा फरक क्षेत्रमा संलग्न भएर अध्ययन अनुभव, शेयर गर्न र काम गरेर देखाउन एनआरएनमा अघि बढेको उनको भनाई छ । सरल स्वभाव र भलाद्मी व्यक्तित्वको रुपमा परिचय कमाएका उनी विगत एक दशक भन्दा बढी समयदेखि वेस्ट लण्डन साउथ ह्यारो बसोबास गर्दै आएका छन् । बर्षौ देखि सामाजिक सेवामै रहेर आएका (रक ) गुरुङले सचिव पदमा दिएको उम्मेदवारी सबैले स्वीकार गरी मतदान गर्नेमा आफू ढुक्क रहेको तमु धिं लण्डन इकाईका पूर्व अध्यक्ष डेविड गुरुङले बताए ।






