लण्डन । नेपाल पत्रकार महासंघ यूकेको नयाँ नेतृत्व चयनको लागि उम्मेद्वारी दर्ता भएको छ । निर्वाचन मण्डलका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (खुला), उपाध्यक्ष (महिला), महासचिव, सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष र सदस्य गरी ९ पदमा २१ जनाले उम्मेद्वारी दिएका हुन् ।
शनिवार र आइतवार गरी दुई दिनसम्म भएको उम्मेद्वारी दर्ता कार्यक्रममा अध्यक्ष पदको लागि बिमला सेने , ध्रुवराज अर्याल, श्यामकुमार लुइँटेल विपिन निरौला गरी ४ जनाले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार, र सन्जयभक्त कंडेल, उपाध्यक्ष खुलामा शिव भण्डारी र एभरेष्ट गौतम, उपाध्यक्ष महिलामा प्रमिला लाबुङ राई, महासचिवमा नरेन्द्रकुमार बस्नेत र जगन्नाथ कार्कीको उम्मेदवारी परेको छ।
यसै गरि सचिवमा पदमा मन्जु भण्डारी खरेल, खेमराज रानाभाट, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम तथा सदस्यहरुमा विश्वासदीप तिगेला, गोमा राना, जयराम तामाङ र नगेन्द्रराज नेम्वाङले उम्मेद्वारी दर्ता गराएका हुन् ।
उक्त व्यक्तिहरुमाथि कुनै दावी विरोध भएमा ३१ मे २०२१ दिउँसो १२ बजेसम्म दावी पेश गर्न भनिएको छ।शाखाको निर्वाचन पोष्टल तथा प्रत्यक्ष रुपमा गर्ने तयारी गरिएको छ ।
शाखाको महाधिवेशनको लागि नेपाल पत्रकार महासंघले बरिष्ठपत्रकार भगिरथ योगीलाई केन्द्रिय प्रतिनिधीको रुपमा खटाएको छ।सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरिएपनि त्यो सम्भव नभएको कारण निर्वाचन नै हुन लागेको हो ।
नयाँ निर्वाचनका लागि रमेश सराङकोटीको संयोजकत्वमा संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य छन् । शाखाका अध्यक्ष नरेश खपांगीमगरले नयाँ कार्यसमिति चयन प्रक्रियामा सक्रियता पूर्वक सहभागी हुन सबै सदस्यहरुलाई आव्हान गरेका छन् ।






