लण्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) युकेले कारोेना संक्रमणको महामारीमा परेको जन्मभुमि नेपाललाई अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री पठाउने भएको छ।
शनिवार बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी तथा नेपाली संघसंस्थाहरुको सहयोग र समन्वयमा उक्त सिलिन्डरसहितका सामग्री पठाउने निर्णय गरेको हो ।
जुम मार्फत भएको छलफलमा नेपालमा अस्पतालमा अक्सिजन, भेन्टिलेटर, आइसियु वेड र खोपका लागि दीर्घकालिन पहल गर्ने समझदारी बनेको छ । राजदुत रेग्मीले राखेको एक सय अक्सिजन सिलिन्डरको प्रस्ताव माथि सहमति जनाउदै सामाजिक अभियन्ताहरु, व्यवसायीहरु तथा संघसस्थाहरुले आर्थिक प्रतिबद्धता व्यक्त गर्न थालेका छन । एक अक्सिजन सिलिन्डरको करीव ७ सय पाउण्ड लाग्ने अनुमान गरिएको छ ।
राजदुत रेग्मीले नेपालमा लाग्ने भन्सार छुटलगायतका सरकारसँग समन्वय गर्न काम आफुले गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल पठाउने स्वास्थ्य सामग्रीहरुका लागि सामाजिक अभियन्ताहरु, व्यवसायीहरु र संघसंस्थाहरुका तर्फबाट प्रतिबद्धता जनाउने कार्य जारी रहेको महासचिव फडिन्द्र भट्टराईले जनाए ।
गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले तत्काल नेपालमा सहयोगको लागि सकृय हुनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारीहरु लगायत बुद्धिजीवीहरुको उपस्थिति थियो ।






