प्रधानमन्त्रीले एकलौटी गरेको भन्दै एमालेमा असन्तुष्टि

kp oliकाठमाडौं– एमालेले सरकारको नेतृत्व गरेपछि पार्टीभित्र चरम द्वन्द्व सुरु भएको छ । ओली पक्षधरले आफूलाई नसमेटेको भन्दै चित्त दुखाएका छन् । विश्वासपात्र भनिनेलार्ई पनि ओलीले समेट्न नसक्दा उनीनिकटहरू पनि गुटको राजनीतिबाट टाढिएका छन् ।

ओलीले सरकार बनाएको ६ महिना पुग्न आँटिसकेको छ । कांग्रेसले सरकारमा सहभागिता नजनाएपछि एमाओवादी, राप्रपा नेपाल, मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकलगायतको सहमतिमा सरकार गठन भएको छ । ओलीले पार्टी हितमा काम गर्नुभन्दा पनि जसरी भए पनि सरकार टिकाउने दाउमा रहेको पार्टीभित्रको अर्को पक्षले आरोप लगाउँदै आएको छ ।

राप्रपा नेपालले भने कांग्रेस विपक्षमा बसेकाले राजनीतिक निकासका लागि बाध्य भएर सरकारमा जानुपरेको भन्दै आएको छ । उसले उपप्रधानमन्त्रीसहित परराष्ट्र, स्थानीय विकास र भूमिसुधार मन्त्रालय लिएको छ भने परराष्ट्रबाहेक अरूमा राज्य र सहायकमन्त्री राखेको छ । ओलीले मन्त्री बनाउँदा एकलौटी गरेको भन्दै माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले असहमति जनाएका छन् ।

सुरुमै ओली विवादमा परेपछि एमालेले मन्त्री छान्न नयाँ मापदण्ड बनाउने भने पनि त्यो लागू हुन सकेन । नेपाल पक्षले खोक्रो आदर्शवादको कुरा गर्नुभन्दा पनि जनताका पक्षमा काम गर्न सरकारलाई सुझाव दिएको छ । नेपालले छिमेकी भारतसँग मिलेर जानुपर्ने बताएको छ भने ओलीले पेलेर वा मतलव नगरी जान खोजेकोमा असन्तुष्टि जनाएको छ । सरकार टिकाउन ओलीले महत्वपूर्ण मन्त्रालय अरू दललाई दिएकामा एमालेभित्रै आलोचना भएको छ । विकासे र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने मन्त्रालय आफूसँग नरहेको भन्दै एमाले नेताले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ति जनाउँदै आएका छन् ।

नेपालनिकट रौतहट–६ का सांसद रामकुमार भट्टराईले सरकारको संरचना बदलेर जानुपर्ने बताएका छन् । ‘जति गर्नुपर्ने त्यति काम सरकारले गर्न सकेको छैन तर सरकार परिवर्तन नै गरिहाल्नुपर्छ भन्ने होइन,’ सांसद भट्टराईले भने, ‘सहमतिमा सरकार गठन गरेर जनताका पक्षमा काम गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो ।’ सरकारमा सहभागिता जनाउने विषयमा आफूसँग कुनै पनि सल्लाह नगरेको भन्दै आएका खनालले नेपालको जस्तै खुलेरै सरकारको विरोध गरेका छैनन् । ओलीले पार्टी मिलाउन नसकेको, कालोबजारी नियन्त्रण गर्न नसकेको, भ्रष्ट मन्त्रीलाई संरक्षण दिएको र कारबाही गर्न डराएको भन्दै ओलीको आलोचना भएको छ । पार्टीको गत महाधिवेशनमा खनालले कुनै पक्षलाई खुलेरै समर्थन गरेका थिएनन्, उनले नेपाललाई सहयोग गरेका भए ओली अध्यक्ष बन्ने थिएनन् । राष्ट्रपति निर्वाचनमा खनाललाई उम्मेदवार अघि सार्ने भनिँदै आए पनि अन्त्यमा ओलीले विद्यादेवी भण्डारीलाई उठाउने भनेपछि अरूले पनि समर्थन जनाएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा वैशाखको तेस्रो साता सरकार परिवर्तन गर्ने सोचमा रहेको स्रोतले बताएको छ । कांग्रेस संसदीय दलको निर्वाचनले केही दिनमा दलको नेता छान्नेछ । कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् । कांग्रेसको महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ भन्ने चर्चा चलेपछि प्रधानमन्त्रीसहित मन्त्री कुनै पनि हालतमा सरकार ढल्दैन भनेर हिँडेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल ओली चीन पुग्नुअघि नै पुगिसकेका थिए । सार्क मन्त्रीस्तरीय सम्मेलन पोखरामा हुनुभन्दा अघि नै काठमाडौं आएका उनले विभिन्न पार्टीका शीर्ष नेतासँग भेटेर आफ्ना कुरा राखेका थिए ।

डोभालले पूर्वराजा ज्ञानेन्द्र, कांग्रेस सभापति देउवा, महामन्त्री शशांक कोइरालालाई पनि भेटेका थिए । ‘भारतलाई अप्ठ्यारो पार्ने खालका कुनै सम्झौता हुने खतराले अजित एक दिनअघि नै चीन पुगेर खबरदारी गरिरहेका छन्,’ स्रोतले भन्यो, ‘आपूर्तिमन्त्री गणेशमान पुनलाई चीन नपठाउन भनेर एमाओवादी अध्यक्षलाई दबाब दिएपछि उनलाई रोकिएको हो ।’ पुनलाई नपठाएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेल एमाओवादी मन्त्रीको कोटाबाट चीन गएका छन्, उनी भ्रमणसँग कुनै सम्बन्ध नभएका व्यक्ति हुन् ।