![]()
काठमाडौं, २५ असोज । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले इन्धन अभाव केही दिनमै समाधान हुने बताएका छन्। आन्दोलनरत दलहरू प्रक्रियामा आइसकेको र बाँकी समस्यालाई तत्काल समाधान गरिने उनले बताए। सिंहदरबारमा पदभार ग्रहण लगत्तै बोल्दै ओलीले केही दिनमै मुलुकमा व्याप्त इन्धन अभावको समस्या समाधान हुने बताएका हुन्।
प्रधानमन्त्री पदमा शपथपछि आज सिंहदरबारमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पहिलो महत्वपूर्ण निर्णय भन्दै प्रधानमन्त्री ओलीले नेपालका दुर्गम स्थानमा हाल रहेका ३५० तुइनलाई दुई वर्षभित्र झोलुङ्गेपुलले विस्थापित गर्ने बताए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सतर्कता केन्द्रसँग सम्बन्धित प्रशासनिक सुधारको कामका साथै मुलुकका विभिन्न क्षेत्रलाई बिल्कुलै नयाँ ढङ्गले अगाडि बढाउने विश्वास दिलाए। मुलुकमा शान्ति, सुव्यवस्था, सुशासन कायम हुने र कानुनको राज हुने दृढता व्यक्त गर्दै उनले सबै प्रकारका असमानता र विभेदजन्य कुरालाई हटाउने बताए।
भूकम्पपछिको पुनः निमार्णको थालनीमा तीव्रताका साथ लाग्ने बताउँदै उनले सुरक्षित बस्ती विकासका लागि गुरुयोजनाअन्तर्गत व्यवस्थित र आधुनिक सहरको विकास तथा परिवर्तन गरिने जानकारी दिए।
अर्थतन्त्रलाई आधुनिकता उन्मुख बनाउने बताउँदै प्रधानमन्त्री ओलीले कृषि, पर्यटन, जलस्रोत, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, सेवालगायत क्षेत्रका कसरी आधुनिकता प्रदान गरी मुलुकको समग्र विकासलाई तीव्रताका साथ अघि बढाउन सकिन्छ भन्ने दिशामा सोच प्रस्तुत गर्ने र युद्धस्तरमा काम अगाडि बढाउने विश्वास दिलाए। ‘जनताको आशा, भरोसा र विश्वासमाथि तलमाथि पर्न दिने छैन’, उनले भने।
अब आपूर्ति व्यवस्था सहज हुने बताउँदै प्रधानमन्त्री ओलीले संविधानसभा छोडेर आन्दोलन गर्न गएका दलहरु आइतबारबाट संविधानलाई स्वीकार गरी संसदीय प्रक्रियामा सहभागी भएका र अब संवैधानिक तथा कानुनी जटिलता नभएको स्पष्ट पारे। उनले आन्दोलनरत दलका केही माग छन् भने तिनीहरुलाई छलफल गरेर संवादका माध्यमले सहमतिका साथ टुङ्ग्याउन सकिने बताए।






