काठमाडौँ- राष्ट्रियसभाको सोमबारको बैठकमा नेपाली काङ्ग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस भएको छ ।

पहिलो बैठकमा विपक्षी सांसद उभिएर विरोध गरेपछि बसेको दोस्रो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई टेवल गरेका हुन् ।

स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै काङग्रेसले बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ । यसअधि माघ दुई र सात गतेको बैठक पनि काङग्रेसले सोही कारण अवरुद्ध गरेको थियो ।

बैठक सुरु भएलगत्तै सांसद बद्रि पाण्डेले प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाएका थिए ।

फेसबुक कमेन्ट