नेपालमा कोरोना संक्रमण फेरि उच्च हुने संकेत

लण्डन । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा आगामी जेठ-असारमा कोरोना संक्रमणको अर्को उच्च बिन्दुमा पुग्नसक्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै त्रिपाठीले पछिल्ला दिनमा फेरि संक्रमण बढ्न थालेकाले सतर्क हुनुपर्ने बताएका छन् ।

‘हामीकहाँ फेरि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ। अहिलेको अवस्थालाई हेर्दा जेठ-असारमा अर्को उच्च विन्दुमा पुग्ने देखिन्छ’ उनले भने, ‘छिमेकी भारतमा संक्रमण बढ्दो क्रममा रहेका कारण हामीले यसको नियन्त्रणका लागि आवश्यक काम अगाडि बढाइसकेका छौं।’ आम नागरिकले जनस्वास्थ्यको पूर्ण पालना गरेमा महामारीलाई नियन्त्रणमा लिन सहयोग पुग्ने उनले जनाए ।

उनका अनुसार नेपालमा यसअघि जेठदेखि साउनसम्म र कार्तिकमा गरेर २ पटक कोरोनाको तरंग आएको छ। ‘कात्तिक महिनामा संक्रमण उच्च थियो। कात्तिक ५ गते एकैदिन ५ हजार ७४३ जना नयाँ संक्रमित भेटिएका थिए,’ उनले भने, ‘त्यसपछि माघ पहिलो सातासम्म घट्दै न्युन अवस्थामा पुगेको संक्रमण पछिल्लो दिनमा फेरि बढ्न थालेको छ।’

संक्रमणको अवस्थालाई हेर्दा अहिले आतंकित हुनु नपर्ने उनले बताए । कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले आवश्यक कदम चालिरहेको र खोपको व्यवस्थापनमा पनि सरकार जुटिरहेको उनले जानकारी दिए ।

मन्त्री त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्न आग्रह गरेका छन् ।