शिव भण्डारी ।
लण्डन । बेलायतमा बस्दै आएका रितेश च्याम्स २ सय बर्ष पुरानो इतिहास बोकेको पूर्व गोर्खा सैनिककै घरानाका सेलिव्रेटी हुन् । पुर्खादेखि गोर्खालीले ब्याटलफिल्डमा देखाएको वीरता र साहसलाई उनले अहिले चलचित्रमा प्रस्तुत गर्दैछन् ।
‘पेशाले म पाइलट हुँ, तर वीर गोर्खालीको रुपमा चलचित्रमा देखिन पाउँदा अभिनयको बाटो शुरू गरेँ’, लण्डन नेपाल न्यूजसँग कुरागर्दै उनले भने, ‘यो मेरो पहिलो चलचित्र हो ।’
‘गोर्खा वारियर २’ नाम दिइएको उक्त नेपाली चलचित्रबाट डेब्यू गर्दै रितेशले चलचित्रको यात्रा शुरू गरेका छन् । ‘मैले अभिनय गर्ने यो पहिलो चलचित्र हो’, उनले भने, ‘पेशाले म एक पाइलट पनि हुँ, तर म वीर गोर्खाली सिपाहीको भूमिकामा देखिन पाउँदा निकै हर्षित छु ।’
काठमाडौँमा जन्मिएका उनी हाल बेलायतमा बस्छन् । काठमाडौँमा नेपाली चलचित्र तथा नाट्या क्षेत्रका शीर्ष गुरू भनेर सम्मानित सुनिल पोखरेलबाट उनले अभिनय कक्षा सिकेका थिए । हाल बेलायतमा आएर उनले अभिनयमा मास्टर्स डिग्री समेत हासिल गरिसकेका छन् ।
‘नेपालबाट सिकेको अभिनय कलालाई बेलायत आएपछि थप बलियो बनाई सिक्ने मौका पाएँ,’ उनी भन्छन् ‘सुनिल पोखरेल मेरो गुरु हुनुहुन्छ, यहाँ लण्डनमा धेरैजनाले मलाई तालिम दिनुभयो ।’
लण्डनमा पहिलो पटक रितेशले ‘समय दृष्य’ नामको नेपाली नाटकमा अभिनय गरेका थिए । त्यसपछि उनले कैयौँ म्यूजिक भिडियो र नाटकहरुको पर्दामा देखिइसकेका छन् ।
मिलन चाम्ससँग काम गर्न पाउँदा रितेशलाई भाग्यमानी भएजस्तै लागेको छ ।
‘मैले आफूलाई गोर्खालीको फिल्म खेल्न पाउँदा भाग्यमानी ठानेको छु’, उनले भने, ‘त्यसैमाथि मिलन च्याम्स त मेरो गुरु आदरणीय निर्देशक, उहाँकै कारणले यो उर्जा आएको छ, उहाँप्रति म निकै कृतज्ञ छु ।’
उनलाई काम गर्दै गर्दा आफूले पाएको क्यारेक्टरलाई न्याय दिन सक्नु नै ठूलो चुनौति लागेको छ ।
‘गोर्खालीको नामै काफी छ । जल, थल, आकाश तीनवटैमा नाम अनुसारको काम गर्न चुनौती छ।’ उनले भने, ‘त्यसकारण पनि यसमा म अथक मिहेनत गर्छु । भूमिकालाई न्याय दिन्छु ।’
‘उनले विगत ७ बर्षदेखि गोर्खा वारियर २ को तयारी गरिरहेको बताए । सानै उमेरदेखि अभिनयमा रूची थियो,’ उनी भन्छन, ‘गोर्खा वारियर २ अत्यन्तै महत्वाकांक्षी मुभी हो, ७ बर्षदेखि यसको तयारी गरिरहेको थिएँ।’
‘गोर्खा वारियर २’ नेपाल, लण्डन र मलेसियाका विभिन्न ठाँउहरुमा सुटिङ्ग गरिदैछ । गोर्खालीहरुले जल, स्थल र वायुमा दोखाएको वीरतालाई जस्ताको तस्तै चलचित्रमा उतार्ने गरी निर्माण हुनेछ । नेपालको सोलुबाट चलचित्र छायांकनको क्रम शुरू हुँदैछ । ‘२८ गतेबाट नियमित रुपमा चलचित्र खिच्ने काम शुरु हुन्छ’, उनले भने, ‘नेपालको सोलुबाट छाँयांकन गरिने चलचित्र करिब एक महिनामा पहिलो चरणको शुट हुन्छ ।’
‘वीर नेपाली गोर्खाजहरुले जल, थल, वायु हिमालमा बहादुरी देखाइसकेका छन्, त्यसैले सोही भूमिकामा देखिने गरी सबै क्षेत्रका तयारी गरिरहेको छु’, उनले भने ।
उनले अफ्रिकाको केन्या, इन्डियन ओसनमा पानीमा डाइभ हान्ने एडभान्स कोर्स पूरा गरेका छन् । मार्सल आर्टसमा अब्बल उनी हवाईको तालिम लिएका छन् । लण्डनमा प्याग्लाइडिँग गरेका उनले स्काई डाइभ गर्नमा पनि निपूर्ण छन् ।
उनी विश्वको सबैभन्दा अग्लो चुचुरोमा पनि पुगिसकेका छन् । यूकेका अग्ला हिमाल हुँदै माउन्ट क्लब, इटरी माउन्ट ग्रान्ड पाराडाइज हुँदै नेपालको मनास्लु र सगरमाथा पनि आरोहण गरे ।
‘म पेशाले पाइलट पनि हो, यूकेबाट अमेरिकाको फ्लोरिडासम्म पाइलटिङ्ग गरेका थिएँ’, उनले भने, ‘वीर गोर्खालीको फिल्म पाएपछि पाइलटिङ्गलाई एकैछिन थाँति राखेर यता होमिएँ ।’
रितेशको कलाकौशललाई नेपाल चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष रोमियन लिम्बूले खुलेर प्रशंसा गरिन् । ‘रितेशमा चलचित्रको ठूलो पोटेन्सियल छ’, उनले भनिन्, ‘यो चलचित्रले उनलाई नेपाली चलचित्रको शिखरमा पुर्याउनेमा कुनै शंका छैन् ।’
उनले रितेशले आफूले पाएको क्यारेक्टरलाई पूर्ण रुपमा न्याय दिनेमा विश्वस्त रहेको बताइन् । अध्यक्ष लिम्बूले नेपाली गोर्खाहरुको साहसिक कथालाई आधार मानेर बनाउन लागिएको उक्त चलचित्रले गोर्खालीको शान अझै बढ्ने विश्वास व्यक्त गरिन् ।
फिल्मको कथाबस्तु दोस्रो विश्व युद्धपछि १९५६ मा गोर्खालीहरुले ब्रिटिश गोर्खा सैनिकको रुपमा ब्रुनाई र मलेसियामा देखाएको वीरतालाई प्रस्तुत गरिएको छ । युद्धको क्रममा पानी, जमिन देखि हिमाल आरोहण गर्दा उनीहरुले पाएका कठिनाईहरु मुभीमा प्रस्तुत हुनेछन् ।
रितेशलाई अभिनेत्री रेविका गुरुङले साथ दिनेछिन् । त्यसैगरी क्याप्टेन विजय लामा, एक्टर बुद्धि तामाङ, रेयर राई, सारा लोरुङ राई, कविता आले, शिशिर बाङदेल पनि उक्त चलचित्रको पर्दामा देखिनेछन् । लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गर्दैछन् । मिलन चाम्स स्वयम् नै निर्माता रहेको चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई र पूर्ण लिम्बू रहेका छन् ।
मिलन चाम्सले तयार पारेको कथामा पटकथा तथा संवादभने गिरीराज घिमिरेले लेखेका हुन् । उनै घिमिरेले चलचित्रमा सहनिर्देशन गर्दै छन् । चलचित्रमा सुदिप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन र हिमाल केसीको द्धन्द्ध निर्देशन रहने छ । सशस्त्र प्रहरी प्रमुख सैलेन्द्र खनालले लेखेको गीतमा एलिश कार्कीको संगीत र राजेश पायल राईको स्वर रहनेछ ।
यसअघि गोर्खा वारियर १ को पनि २० प्रतिशत जति सुट भइसकेको छ । महामारीको कारण ले गर्दा अहिलेलाई सो चलचित्र निर्माण रोकिएपनि यो चलचित्र बनाइसकेपछि शुुरू हुने निर्माणकर्ताले जनाएका छन् । चलचित्रको पहिलो भागको लागि ठुलो बजेट चाहिने हुँदा दोश्रो भागलाई पहिला निर्माण गर्न लागेको निर्देशक चाम्सले जानकारी दिए ।
निर्देशक चाम्सले युद्धमा ज्यान गुमाएका गोर्खाली सेनाको कथालाई समावेश गरेर बनाइएको चलचित्रमा गोर्खाली वीरहरुको वीरताको कहानी देख्न सकिने बताए । ‘बेलायतमा २ सय बर्ष पुरानो वीर गोर्खालीको इतिहासलाई मध्यनजर गर्दै उनीहरुको साहस र वीरताको गाथा चलचित्रमा उतार्दै छौँ, आशा छ, यो चलचित्रले सबैको साथ पाउनेछ,’ उनले भने ।
मंगलबार नेपालको राजधानी काठमाडौंको लाजिम्पाटस्थित होटल रेडिसनमा एक कार्यक्रम गर्दै गोर्खा वारियर २ चलचित्र निर्माण घोषणा गरिएको थियो ।






