संशोधनको विपक्षमा मतदान गर्न राप्रपाले लगायो ह्वीप

काठमाडौं– राप्रपा संसदीय दलले संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने केन्द्रीय कार्यासमितिको विशेष बैठकले गरेको निर्णय अनुमोदन गरको छ ।

 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले केन्द्रीय समिति बैठकको निर्णयलाई अनुमोदन गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले संशोधनको विपक्षमा मतदान गर्न ह्वीप समेत जारी गरेको छ ।

 

सहप्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकको निर्णय अनुसार एवं दलका नेताको निर्देशन अनुसार प्रमुख सचेतक कुन्ती कुमारी शाहीद्धारा राजनीतिक दल सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको ऐन २०७३ को धारा २८ बमोजिम मिति २०७४ भदौ ५ गते बस्ने व्यवस्थापिका संसदको बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।’

राप्रपाको आइतबार हेटौडामा सम्पन्न बैठकले संसदमा हाल विचाराधीन संविधान संशोधन विधेयकले मधेस र मधेसी जनताको मूलभूत हक, हित र समस्यालाई सम्बोधन गर्न नसकेको, मधेस केन्द्रीत राजनीतिक दलहरुले विधेयक पारित नभएपनि चुनावमा भाग लिने प्रतिबद्धता जनाएको, विधेयक पारित गराउने बारे स्वयम् सत्तारुढ दल, सरकार र राजपासमेत गम्भीर नरहेको, राप्रपाको तर्फबाट संसदमा पेश भएको हिन्दुराष्ट्र पुर्नस्थापनासम्बन्धी संविधान संशोधन विधेयक छलफलमा नल्याइएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दलहरु नै सक्रियाशिल भएको भन्दै विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।