बचाऊ–बचाऊ भने पनि उद्धार हुन सकेन:

Rescue operation continuous on Monday मोबाइलमा हिजो आइतबार दिउँसो घण्टी बज्यो । फोन थियो भुकम्पले घर भत्किँदा पुरिएको अनुमान गरिएका हेटौंडाका सुशील लामाको ।

आफूले पुरिएको अनुमान गरेका साथीको फोन आएपछि सुरज थापा खुसी हुनुभयो र फोन उठाउनुभयो । ‘मलाई बचाउनुहोस् म जीवितै छु ग्यास लिक भएकाले मेरो नानी बेहोस भइसकिन् म पनि बेहोश हुन आँटिसकें’ भित्रबाट यत्ति आवाज आएपछि फोन काटियो । त्यसपछि थापाले धेरैपटक फोन गर्नुभयो तर लामाको मोबाइल स्वीच अफ भईसकेको थियो । ‘बचाऊ बचाऊ भनेर भनिरहँदा समेत चाँडो उद्धार हुन नसक्दा हामीले उहाँलाई बचाउन सकेनौं ।’ गहभरि आँसु पार्दै थापाले भन्नुभयो ‘आजदेखि त जीवितै हुनुहुन्छ भन्ने आशा पनि छैन, अब त खाना नपाएरै ज्यान गईसक्यो होला ?’

थापाका अनुसार बालाजु १६ को ५ तलाको भवन ढलेको छ । माछापोखरीमा रहेको  मत्स्य कार्यालयसँगै जोडिएको पाँच तल्लाको भवनमा एक जनाको जन्मदिनको कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसमा बालबालिका र अन्य विभिन्न क्षेत्रबाट आएका आफन्तहरु पुरिएका छन् । ‘हामीसँग केही थिएन, पन्छाउने आँट पनि भएन ।’ सोमबार दिउँसो थापाले उज्यालो अनलाइनसँग भन्नुभयो ‘बल्ल आज स्काभेटर लिएर उद्धारकर्मी जाँदैछ, आज आएको उद्धारकर्मी अस्ति नै आईदिएको भए हाम्रा मानिस बाँच्ने सम्भावना थियो ।’

भुकम्प जाँदा भत्किएका घरले च्यापिएर वा पुरिएर पनि बच्न सफल भएकाहरुको बचाऊ बचाऊ भन्ने आवाज सुन्नेहरु धेरै छन् । कतिले बचाउन पनि सके भने कतिका लागि बचाऊ भन्ने शब्द नै आफ्नो आफन्तको अन्तिम शब्द बन्यो ।

मिलन टोल सुधार समिति सीतापाइलाका अध्यक्ष भीमसेन पोख्रेल भन्नुहुन्छ ‘बचाऊ भनेर चिच्याएकाहरुलाई जीवितै उद्धार गर्न पाउँदाको आत्मिक सन्तुष्टि बर्णन गरेर साध्य छैन ।’ उहाँलगायत नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सीतापाइलाको एउटा चर्चमा प्रार्थना गरिरहेकाहरु मध्ये ३ जनालाई जीवितै उद्धार गरेको थियो ।

उहाँका अनुसार सीतापाइलाको भुवनमान शाक्यको घरबाट अझै बचाऊ बचाऊ भन्ने आवाज आईरहेको छ । ती व्यक्तिलाई बचाउन उद्धारकर्मी विहानैदेखि लागिरहेको छ । ‘हिजो बेलुकीदेखि हजुर हजुर भनेको मात्र सुनिन्छ, तर उहाँलाई भेट्न पाँच तलाबाट ड्रिलिङ गरेर प्वाल पार्दै पुग्नुपर्ने भएकाले धेरै कठिन छ ।’ टोल सुधार समितिका अध्यक्ष भीमसेन पोख्रेलले बताउनुभयो ।

उद्धारमा खटिएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक पदम बहादुर विष्टका अनुसार घर भत्किएर पुरिएर पनि बच्ने सम्भावना भएको क्षेत्रलाई उद्धारको पहिलो प्राथमिकता तोकिएर काम भईरहेको छ ।
पुरिएकै ठाउँमा पानी

नयाँ बसपार्कको एउटा घरमा पुरिएका रसुवाका जुन केसीलाई भुकम्प गएको तेस्रो दिन पनि जीवितै उद्धार गर्न सकिने आशा गरिरहेका छन् उद्धारकर्मी । २०/२२ बर्षको ती युवकको कम्मर भन्दा तलतिरको भाग च्यापिएको छ ।  भित्रबाटै बचाऊ बचाऊ भन्ने आवाज आएपछि हिजोदेखि जीवितै उद्धार गर्न गरिएको प्रयासमा आज शसस्त्र प्रहरीले पानी खुवाउन र कपडा लगाईदिन सफल भएको हो । उद्धारमा खटिएका शसस्त्र प्रहरीका प्रहरी निरीक्षक एलबी बस्नेतले भन्नुभयो ‘कम्मर भन्दा तलको भाग किचिएको छ, दुई बोतल पानी र कपडा दिएका छौं, न्यानो भएको छ भन्न थालेका छन् । पाइपहरु काटेका छौं, एकदमै सानो ठाउँ छ । भत्काउने र काट्ने कोशिश गर्दैछौं तर धेरै जोखिम छ ।’
जीवितै उद्धार गरेपछि कति लाखको चेक काटिदिऊँ भने

भुकम्प गएपछि उद्धारमा खटिएका उद्धारकर्मीले धेरैलाई जीवितै उद्धार गरेका छन् । उद्धारका क्रममा बटुलेका विभिन्न अनुभव छ उद्धारकर्मीसँग । शसस्त्र प्रहरीका प्रहरी निरीक्षक दीपक कोइराला भन्नुहुन्छ ‘हामीले विभिन्न स्थानबाट १२/१३ जना त जीवितै उद्धार गरिसकेका छौं हामीले कसैको बच्चा निकाल्यौं, कुनै विवाहित जोडीलाई निकाल्यौं ।’ जीवित उद्धार गरिएका मानिस बाँच्न पाएकोमा धेरै नै खुसी हुने गरेका अनुभव कोइरालासँग छ । ‘हामीले उद्धार गरेपछि एक जनाले त मलाई बचाउनुभयो म तपाईहरुलाई कति लाखको चेक काटुँ भन्नुभयो ।’ कोइरालाले अनुभव सुनाउँदै भन्नुभयो ‘समग्रमा कसले कसलाई के भन्यो भन्दा पनि हामीले कति व्यक्तिलाई जीवितै उद्धार गर्न सक्यौं भन्ने हो,  धेरै जना भएर मात्र उद्धार हुने होइन, त्यसलाई कसरी जुक्तिपूर्ण तरीकाले गर्न सकिन्छ भन्ने हो ।’

Dead Bodies Recover

उद्धारकर्ताहरु जीवितै उद्धार गर्न सक्नुलाई ठूलो धर्म मान्छन् । कोइराला भन्नुहुन्छ ‘एक जना मान्छे मात्र पनि जीवित उद्धार गर्न सक्यौं भने त्यो सबैभन्दा ठूलो धर्म ठान्छौं हामी, मर्ने त मरिगए बाँच्नेलाई त बचाउनुपर्‍यो नि ?’