विश्व सञ्चार माध्यमको ध्यान नेपालमा

काठमाडौं, १४ वैशाख । शनिबार बिहान ११.५६ मा गएको भूकम्पले राष्ट्रिय विपत्ति ल्याएको भएपनि त्यसको विभिन्न पाटा पक्षका बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विशेष चासोका साथ समाचार सम्प्रेषण गरिरहेका छन् । विपत्ति नेपालमा परेको भएपनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने त्यसलाई अन्तर्राष्ट्रिय विपत्तिकै रुपमा लिएका छन् र नेपाललाई सक्दो सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।
उनीहरूले छिनछिनमा नेपालको पछिल्लो अवस्था, सरकारले उपलब्ध गराएको उद्धार, राहत तथा पुनःस्थापनालगायत विषयमा समेत सूचना उपलब्ध गराएका छन् ।
नेपाल असाध्यै समस्यामा परेकाले मानवीय सहयोग उपलब्ध गराउनु अन्तर्राष्ट्रिय समुदायको दायित्व हो भन्दै उनीहरूले सकारात्मक माहोल बनाएका छन् । भूकम्पको धक्कासँगै नेपालको सञ्चार सम्पर्क तथा इन्टरनेटमा केही समय समस्या आएको भएपनि उनीहरूले एक मिनेट पनि खेर नफाली समाचार सम्प्रेषण गरेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यतिबेला नेपालको भूकम्प र त्यसबाट पारेको प्रभावलाई आफ्नो प्रमुख समाचार बनाएका छन् भने भूकम्पबाट सगरमाथा आरोहणमा रहेका आरोहीहरूको निधन तथा घाइतेसम्बन्धी विवरणलाई पनि चासोका साथ प्रस्तुत गरिरहेका छन् ।
अमेरिकी सञ्चार संस्था सिएनएनले नेपालमा गएको भूकम्पले संसारभर नै प्रभाव पारेको भन्दै समाचार सम्प्रेषण गरेको छ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरूमा पारेको प्रभावलाई उसले विशेष महत्वका साथ सम्पे्रषित गर्दै सहयोगका लागि आग्रह गरेको छ ।
यस्तै आज सगरमाथा आरोहणका क्रममा भएको दुर्घटनाका र त्यसले पारेको प्रभावका बारेमा विभिन्न कोणबाट समाचार सम्प्रेषण गरेको छ । सो प्रसारण संस्थाले भूकम्पबाट पारेको प्रभाव सँगसँगै सगरमाथा आरोहीले भोगेको समस्या, निधन र घाइते भएको विषयलाई प्रमुख प्राथमिकताका साथ समाचार दिइरहेको छ ।
यस्तै बेलायती प्रसारण संस्था बिबिसीले नेपालमा अकल्पनीय क्षति भएको र त्यसको प्रभाव संसारभर नै पर्ने जनाएको छ । उसले नेपालको ऐतिहासिक र परम्परागत धरोहरहरूको क्षति हुनुले विश्व समुदायले हेर्नै पर्ने महत्वपूर्ण स्थान गुमाएको उल्लेख गरेको छ ।
बसन्तपुर दरबार स्वायर, काष्टमण्डप, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार स्वायरलगायतका क्षेत्र भूकम्पका कारण क्षति भएको भन्दै बिबिसीले नेपालको महत्वपूर्ण रमणीय स्थान खण्डहर भएकोमा दुःख व्यक्त गरेको छ । बेलायतको अर्को समाचार सस्था गाजिर्यनले पनि नेपालमा आएको प्राकृतिक विपत्तिलाई एउटा मुलुकको मात्र समस्याका रुपमा नहेरी अन्तर्राष्ट्रिय समस्याको रुपमा लिन ध्यानाकर्षण गराएको छ ।
भारतीय सञ्चार माध्यमहरूले पनि नेपालको पछिल्लो अवस्थालाई सङ्कटग्रस्त भन्दै सहयोगका लागि भारतीय जनता र नेपालका शुभेच्छुकलाई आग्रह गरेको छ । विशेष गरी हिन्दु, नवभारत टाइम्स, एसियन एजलगायतका सञ्चार माध्यमले शनिबारको भूकम्पलाई दक्षिण एसियाको विपत्तिको रुपमा चित्रण गर्दै विशेष समाचार दिएका छन् । ती सञ्चार माध्यमले लगातार नेपालको पछिल्लो अवस्थाका बारेमा समाचार दिएका छन् ।
यस्तै भारतीय टेलिभिजन च्यानलहरूले पनि भूकम्पले पारेको प्रभावसम्बन्धी समाचारलाई लगातार सम्प्रेषण गरिरहेका छन् । आज तक, इन्डिया टिभी, एबिपी न्यूजलगायतका टेलिभिजन च्यानलले लगातार प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।
ती टेलिभिजन च्यानलले काठमाडौँबाट नै प्रत्यक्ष समाचार प्रसारण गरिरहेका छन् भने सगरमाथामा गएको हिमपहिरोले पारेको प्रभावलाई पनि समेटेका छन् । अर्को छिमेकी राष्ट्र चीनको सिसिटिभीले पनि नेपालको पछिल्लो अवस्थाका बारेमा प्रत्यक्षरुपमा समाचार सम्प्रेषण गरिरहेका छन् भने समाचार संस्था सिह्वाले पनि अत्यन्तै महत्वका साथ समाचार दिइरहेको छ । एपी, एफपी, पिटिआई, क्योदोजस्ता समाचार समितिले पनि नेपालको पछिल्लो अवस्थाका बारेमा विशेष समाचार दिएका छन् ।
दक्षिण एसियाका श्रीलङ्का, भुटान, पाकिस्तान, अफगानिस्तानका विभिन्न सञ्चार माध्यमले पनि भूकम्पले पारेको प्रभाव र उत्पन्न समस्या समाधानका लागि गरिएको पहलका बारेमा समाचार सम्प्रेषण गरेका छन् ।
त्यसैगरी जापान, दक्षिण कोरिया, थाइल्याण्डका विभिन्न सञ्चार माध्यमले पनि प्राकृतिक विपत्तिमा परेकाको सहयोग गर्न आग्रह गर्दै नेपाली जनताको दुखमा सहयोग गर्न आग्रह गरेका छन् भने युरोपेली मुलुकका अन्य सञ्चार माध्यमले पनि नेपालको विषयलाई नै बढ्ता महत्व दिएका छन् ।