सिरिया आक्रमणमा विषालु ग्यास

दमास्कस — सिरियामा गतवर्ष गरिएको आक्रमणमा विषालु ग्यासको प्रयोग गरिएको रासायनिक हतियार अनुगमनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (ओपीसीडब्लू) ले जनाएको छ ।

 

ओपीसीडब्लूले सन् २०१७ को मार्च २४ मा सिरियाको विद्रोही नियन्त्रित क्षेत्र लटामिनामा गरिएको आक्रमणमा सरिन तथा क्लोरिन ग्यास प्रयोग गरिएको प्रमाणित भएको जनाएको छ । मानव अधिकारकर्मीहरूका अनुसार उक्त आक्रमण सरकारी फौजले गरेको थियो ।

ओपीसीडब्लूले जारी गरेको विज्ञप्तिमा विषालु ग्यास आक्रमणबारे स्थलगत अध्ययन तथा वातावरणीय नमुनाको विश्लेषणका आधारमा निष्कर्ष निकालिएको जनाएको छ । उक्त आक्रमणमा ३२ जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए । मृतक तथा घाइतेमध्ये अधिकांशमा श्वासप्रश्वास, वान्ता हुनेलगायत समस्या देखिएका थिए ।

त्यसैगरी, गत अप्रिलमा रूसी सेनाको सहयोगमा सरकारी फौजले सिरियाको पूर्वी सहर डुमामा गरेको आक्रमण रासायनिक हतियार प्रयोग गरेको अमेरिका, बेलायत र फ्रान्सले दाबी गरेका थिए । त्यसको प्रतिक्रियामा उनीहरूले विभिन्न क्षेप्यास्त्र प्रहार गरेका थिए ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ती क्षेप्यास्त्रहरू सिरियाको रासायनिक हतियार निर्माण तथा भण्डारण स्थलमा प्रहार गरेको दाबी गरेका थियो ।

तर रूस र सिरियाले उक्त हमलामा कुनै पनि रासायनिक हतियारको प्रयोग नगरेको बताउँदै आएका छन् । रूसले राष्ट्रपति असदको पक्षमा विद्रोहीलक्षित कारबाहीमा सहयोग गर्दै आएको छ । बीबीसी