विनर सर्कल मिडियाको आयोजनामा स्पिड डेटिङ्ग मार्च २० मा हुँदै, यसरी फर्म भर्न सकिने

तक्दीर अधिकारी
सिड्नी। विनर सर्कल मिडियाले अस्ट्रेलियामा रहेका नेपाली अविवाहित र सम्बन्धमा नरहेका विद्यार्थीहरुलाई स्पिड डेटिङ्गको अवसरमा दिने भएकोे छ । आगामी मार्च २० गते बर्दली फङ्सन सेन्टर मेरिल्याण्डमा राखिएको उक्त कार्यक्रमको निम्ती फर्म बुधबारबाट खुलेको छ ।

खासगरी नेपाली संस्कृतिमा नरहेको यस आधुनिक शैलिलाई अस्ट्रेलियामा रहेका नेपालीहरुलाई अभ्यास गराउने गरी डेटिङ्गको कार्यक्रम राखीएको मिडियाका  संस्थापक रोशन खतिवडाले बताए । “हाम्रो नेपाली संस्कृतिले हामीलाई खुलेर ब्यक्त हुने अवसर दिइसकेको छैन, तर हामीले अलिकति आधुनिकताको अभ्यान गर्न यो कार्य थालेका हौँ” खतिवडाले भने, “यसमा अविवाहित र सम्बन्धमा नरहेका युवक र युवतीहरुले एकअर्कालाई जान्ने र भविष्यमा उपयुक्त ठानेको खण्डमा जीवनसाथी पनि बन्न सक्नेछन्” ।

कार्यक्रममा २५ जोडी र अरु १५ जना आयोजक र अतिथि गरी जम्मा ६५ जना क्षमताको हल तयार गरिएको छ । कार्यक्रममा भाग लिन युवक र युवतीहरुले एक सम्झौतामा हस्ताक्षर गरि प्रवेश गर्न पाउनेछन् । प्रवेश गरिसकेपछि प्रत्येक २५ जना ब्यक्तिहरुले त्यहा उपस्थित अर्का २५ जना विपरीत लिङ्गीहरुसँग अनिवार्य रुपमा ८ मिनेट सम्म कुराकानी गर्न पर्नेछ । सबैको समय सकिए पछी अन्त्यमा युवायुवतीहरुको नाम समेटिएको फर्ममा आफुले सम्पर्क गर्न चाहेको ब्यक्ती नाममा टिक लगाउनु पर्ने छ । सोही फर्मको आधारमा जोडीहरुलाई सम्पर्क गर्न नम्बर हरु उपलब्ध गराइनेछ । दुवै जनाले एक अर्कासंग थप सम्बन्ध अघि बढाउन या साथी बनाउन इच्छुक भएको खण्डमा मात्र नम्बर दिने आयोजकको भनाई छ ।

बुधबारबाट खुलेको फर्म भर्न लेडिजलाई ६० डलर र जेन्सलाई ८० डलर शुल्क तोकिएको छ । उक्त दिन सहभागि हुनेहरुलाई खाना सहित अल्कोहलिक नन अल्कोहलिक वेभेरेजको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

‘यो एक पश्चिमा संस्कृति हो । नेपालमै भएको भए हामीले यसबारे सोच्न पनि सक्ने थिएनौँ,’ लण्डन नेपाल न्यूजसंग खतिवडाले भने, ‘यो हाम्रो देश र समाजको लागि नयाँ कुरा हो । लेडीज र जेन्स दुवैजना कोही भन्दा कोही कम छैनन भन्ने सन्देश पनि यस कार्यक्रमले दिन्छ ।’

“यस कार्यक्रममा सहभागी हुनको निम्ती अविवाहित हुनु र सम्बन्धनमा नरहनु अनिवार्य सर्त हो” खतिवडाले भने, “डेटिङ्गमा आउन चाहनेले आफु सम्बन्धमा नरहेको कुरा स्पष्ट रुपमा प्रमाणित गर्नुपर्ने हुन्छ” । अस्ट्रेलियामा ब्लाइन्ड डेट प्रचलनमा रहेको छ । जहाँ एक अर्काको विचमा कुनै पनि जानकारी नभइकन डेटमा प्रवेश गराइन्छ, तर यस स्पिड डेटिङ्गमा भने एकअर्काको बारेमा पूर्व जानकारी पाउन सकिन्छ । “यस प्रकारको कार्यक्रम नेपाली समुदायमा पहिलो पटक गर्न लागिएको हो, हामी पनि यसबाट सिक्दै सहज तथा प्रभावकारी बनाउन सकिन्छ भनेर लागि परिरहेका छौँ”, खतिवडाले भने ।

यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा प्रिमो एजुकेशन र एडभान्स कलेज रहेका छन् ।

आधुनिकताको विकास गर्ने उद्धेश्य

नेपाली समाजले यस खालको संस्कृतिलाई सहज रुपमा लिन सकेको छैन ।प्रेम सम्बन्धमा रहेका व्यक्तिहरु खुलेर बाहिर आउने वातावरण रहेको छैन । त्यसैले जोडीहरु लुकिछिपी डेट गर्छन ।तर यो अभ्यासले मानिसहरुमा अलिकति आधुनिक सोँच ल्याउन भूमिका खेल्ने मिडियाका  प्रशासकिय अधिकृत विवश बानियाले बताए ।

“महिला पुरुष दुवैमा आधुनिक सोँच विकास गर्न, आत्मविश्वास बढाउन तथा लज्जाबोध हटाउने गरी यो फरक शैली अपनाइएको हो” उनले भने, “यस बाट युवायुवतीहरुले आफ्नो जोडी पनि प्राप्त गर्ने अवसर हुन्छ।” । उनका अनुसार डेट गर्न आइसकेपछि विहे नै गर्नुपर्छ भन्ने पनि छैन । उनीहरुले एक अर्कामा परिचित हुने र साथीको रुपमा अघि बढ्न पनि सक्नेछन् ।

यस कार्यक्रमले कोभिड १९ ले पारेको मानसिक असरलाई कम गर्न पनि सहयोग पुग्ने विश्वास लिईएको छ । त्यसैगरी परिस्थितीलाई ध्यानमा राख्दै पर्याप्त सुरक्षाका उपायहरु अपनाइनेछ । कार्यक्रममा विशेष अतिथिहरु पनि उपस्थित हुनेछन् । त्यसैगरी उपस्थितहरुलाई खानपिनको व्यवस्था तथा केही सांगीतिक कार्यक्रमहरु पनि गरिने छ । नेपाली समुदायमा अहिले सम्म डेटिङ्गको प्रचलन छैन । विशेष गरी अस्ट्रेलियामा आइपुगेका युवा युवतीहरु पश्चिमी रहनसहनको वातावरणमा आफुलाई घुलमिल गराउने क्रममा विभिन्न सामाजिक सञ्जालका डेटिङ्ग साइटहरुको शिकार हुने तथा कुलतमा लाग्ने समस्या समेत हुने गरेको पाइएकोे छ । यस कार्यक्रमले यो प्रकारको जोखिम न्यूनिकरण गर्न सक्ने विश्वास राखिएको छ ।

मिडियाले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई विभिन्न किसीमका रचनात्मक सहयोग गर्दै आइरहेको छ । कोभिड १९ को कारण समस्यामा परेका विद्यार्थीहरुलाई राहत सहयोग गर्नुका साथै उनीहरुलाई रोजगारी दिनको निम्ती विभिन्न किसीमका तालिमहरुमा पनि यस संस्थाले सञ्चालन गरिसकेको छ । त्यसैगरी मानसिक स्वास्थ्य सम्बन्धी सचेतना पनि सम्पन्न गरेको संस्थाले केही हप्ता अघि भव्य फुटसल मोनिया समेत सम्पन्न गरेको थियो । त्यसैगरी १० महिनाकी बालिकाको उपचार गर्नको निम्ती संस्थाले चालेको अभियानमा समितिका सदस्य समिर अर्याल ५७ किमी दौडिएका थिए भने ५ लाख नेपाली रुपैया सहयोग गरिएको थियो । त्यतिमात्र नभएर संस्थाले केही हप्ता अघि मात्रै सिड्नीमा रहेका नेपाली व्यवसायहरुलाई सेनिटाइज गरेर सहयोग गरेको थियो ।

डेटमा सहभागि हुन चाहनेले फर्म भर्न यहाँ क्लिक गर्न सकिनेछ ।