बेलायतमा यसरी स्वागत गरियो नयाँ बर्ष २०२१

लण्डन । शुक्रवारबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु हुँदै छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्षलाई स्वागत गरिरहेका छन् ।

इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

नयाँ बर्ष लागेपनि यसपटक अघिल्ला बर्षहरुमा जस्तो खुशीयाली भने छैन । कोरोनाभाइरस महामारीको कारण यसपटक मानिसहरुले घरघरमै बसी अनलाइनबाटै शुभकामना आदान प्रदान गर्दैछन् ।

अघिल्ला बर्षहरुमा इस्वी संवतको नयाँ वर्षको अवसरमा बेलायतमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु हुने गरेका थिए ।

बेलायत स्थित नेपालीहरु यसपटकको नयाँ बर्षमा कत्ति पनि रौनक नभएको बताउँछन् । गैरआवासीय नेपाली संघका पूर्व केन्द्रीय उपाध्यक्ष कुल आचार्यले लण्डन नेपाल न्यूजसंग भने, ‘कोरोनाभाइरस महामारीको कारण विगतमा जसरी मनाइन्थ्यो, त्यस प्रकारले यस पटकको नयाँ बर्ष मनाउन पाइएन, पारिवारीक भेटघाटमै सीमित बन्यो ।’

बेलायत स्थित ट्राभल कन्सर्टका प्रबन्धक विराट भट्टको पनि उस्तै अनुभव छ । महामारीको तेस्रो लहरको कारण हवाई यातायात बन्द हुँदा उनको व्यवसाय पनि सुनसानको अवस्थामा छ । त्यसकारण पनि यसपटकको नयाँ बर्ष सुनसान रुपमै मनाइने उनले बताए ।

आफुहरुको मुख्य पर्व तमु ल्होसार राम्रोसंग मनाउन नपाउँदा तमुधिं लण्डनका पूर्वअध्यक्ष डेबिड गुरुङ पनि खुशी छैनन् । ‘नयाँ बर्षकोे त के कुरा, हाम्रो महान पर्व तमु ल्होछार पनि राम्रोसंग मनाउन पाइएन, कोरोनाले सबै कुरा तहसनहस बनायो, जीवन नै अस्तव्यस्त बनायो, आफ्नै परिवारसंग भेट हुन पनि डराउनु पर्ने अवस्था छ ।’ उनले भने ।

बेलायतमा हाल टायर ५ सम्मको डरलाग्दो प्रतिबन्धको लगाइएको कारण नयाँ बर्ष इभ एकदम सुनसान र सन्नाटापूर्ण देखिन्छ ।

सुनसान रह्यो २०२० पनि

सन् २०१९ को अन्तिम दिन डिसेम्बर ३१ मा देखिएको कोरोनाभाइरस महामारी २०२० को शुरुमै विश्वभर फैलिन थालेसँगै उक्त बर्ष रमझमको हिसावले सुनसान जस्तै बन्यो । विश्वभरका मानिसहरुले कुनै पनि खुशीयाली भव्य रुपमा शेयर गर्न पाएका छैनन् । नेपालीहरुको महान पर्वहरु दशैँ, तिहार, तीज, छठ पूर्णरुपमा प्रभाभित भए । त्यस्तै क्रिसमस, तमु ल्होछार पनि मानिसहरुले खुशीसंग मनाउन पाएनन् । नयाँ बर्षको उदयसँगै हाल देखिएको महामारी नियन्त्रण हुने र पुरानो स्थितीमा संसार चाँडै फैलने काममा गरिएको छ । बेलायतमा पनि यसपटक सुनसान जस्तै वातावरणमा नयाँ बर्षको स्वागत गर्न लागिएको छ । लण्डन व्रिजमा भने न्यू इयर इभमा विशेष कार्यक्रम भने हुने भएको छ ।