विजयी भइसकेको जस्तो व्यवहार पाएँ : नेता पौडेल

ramchandra212काठमाडौँ- नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले आफूसँग भेट भएका सबै महाधिवेशन प्रतिनिधिहरुले विजय भइसकेजस्तो व्यवहार गरेको बताउनुभएको छ ।

सभापतिका उम्मेदवारसमेत रहनुभएका पौडेलले आज काँग्रेसको बन्दसत्र सकिएपछि भृकुटीमण्डपस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा आफू विजयी हुने सुनिश्चित भएको दाबी गर्नुभयो ।

महामन्त्री प्रकाशमान सिंह र आफू अहिलेसम्म बन्दसत्रमा व्यस्त रहेको र अब निर्वाचनको तयारीमा लाग्ने उहाँले जानकारी दिनुभयो । अहिलेसम्म भेटिएका साथीहरुको प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको उहाँको भनाइ थियो । “पार्टी कसरी अगाडि बढाउँदा राम्रो हुन्छ, कसलाई जिम्मेवारी दिँदा पार्टी सशक्त हुन्छ भन्ने कुरा आत्मैदेखि सोचेर मतदान गर्न दिन आह्वान गर्दछु” – उहाँले भन्नुभयो ।

महाधिवेशनमा भड्किलो प्रचार भयो भन्ने जिज्ञासामा उहाँले उम्मेदवारहरुलाई भड्किलो प्रचार नगर्न आग्रह गर्दै प्रचारमा नयाँ प्रयोग हुनुलाई भने स्वाभाविकरुपमा नै लिनुपर्ने धारणा राख्नुभयो ।