अस्ट्रेलिया– अस्ट्रेलियामा रहेका ६ कलाकारले ‘उडान’ एल्बम सार्वजनिक गरेका छन् ।
एक कार्यक्रममा ‘उडान’ एल्बम सार्वजनिक गरिएको हो । कार्यक्रममा ६ गायकगायिकाद्वारा तयार गरिएको एल्बम ‘उडान’ लाई लोकार्पण गरिएको हो । एल्बममा अस्ट्रेलियामै रहेका युवा निष्प्रभ सजी र प्रदीप चापागाईले गीत लेखेका छन्। ‘विदेशमा रहेर गीतसंगीतमा व्यावसायिक रूपले लागिपरेका कलाकारलाई अवसर सृजना गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ आयोजक अल्प इन्टरटेनमेन्टका मनोज अधिकारीले भने ।
कार्यक्रममा गायक गायिकाहरुले गीत संगीत प्रस्तुत गरेका थिए ।
आयोजकले नेपालबाट चर्चित कलाकार बोलाएर कार्यक्रम गर्नुको साटो यहीँका स्थानीय प्रतिभालाई प्रोत्साहन दिने उद्देश्यले कार्यक्रमको गरिएको बताएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र अल्पप इन्टरटेनमेन्टले गरेको कार्यक्रममा ६ गायक गायिका तथा २ रचनाकारको सहभागिता थियो। गायिका मोक्षदा सिलवाल, सुजाता उपाध्याय र गायक ईश्वर पोखरेल, समीर आचार्य, सञ्जीव पराजुली र नरेन कुलुङले दर्शकलाई गीतसंगीतले भरपुर मनोरञ्जन दिलाए।






