भारत भ्रमण पूर्ण सफल : प्रधानमन्त्री

pm-prachandaनयाँदिल्ली, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको बताउनुभएको छ ।

नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अब नेपाल र भारतबीच नयाँ सम्बन्धको सुरुवात भएको र त्यसले दीर्घकालीन महत्व राख्ने बताउनुभयो ।

उहाँले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विषयमा खुलेर कुराकानी भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले भारतीय प्रधानमन्त्रीसँग खुलेर दिलदेखि नै कुरा गरेँ । म भ्रमणबाट पूर्ण सन्तुष्ट छु । यसले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । मैले विश्वास लिएको छु, भ्रमण पूर्णरुपमा सफल भएको छ ।”

संविधान लेखन प्रक्रियादेखि नै असन्तुष्टि जनाउँदै आएका पक्षसँगको सहमतिमा नै नेपालको संविधान संशोधन प्रक्रिया अगाडि बढाउने उहाँको कथन थियो । प्रधानमन्त्रीले भन्नुभयो, “सबैको सहमतिमा सर्वमान्य तवरले संविधान संशोधन हुन्छ । त्यो प्रक्रिया ऐतिहासिक हुन्छ भन्ने मेरो ठहर छ ।”

प्रधानमन्त्री दाहालले समकक्षी प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह, उद्योगी व्यवसायी, पत्रकार लगायतसँग महत्वपूर्ण छलफल भएको र द्विपक्षीय हित तथा चासोका बारेमा विचार विमर्श भएको बताउनुभयो ।

प्रधानमन्त्री आफ्नो चारदिने राजकीय भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते भारत प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहाललाई भारत सरकारले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।