आक्रमणमा संलग्न सबै फोरमका नेता

कैलाली, ९  भदौ । कैलालीको टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० जनामध्ये प्रहरीले बुधबार ७ जनाको म्याद थपेको छ भने ३ जनालाई सोधपुछपछि छाडिदिएको छ । जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद लिइएकाहरुमा कैलालीको मुनुवा गाविस वडा नम्बर–१ का रामकुमार कठरिया, राजकुमार चौधरी, दिलबहादुर चौधरी, सुन्दरलाल कठरिया रहेका छन् ।
यस्तै, सोही गाविस वडा नम्बर–४ का हरिनारायण चौधरी, भजनी त्रिशक्ति नगरपालिका वडा नम्बर–४ का प्रेमबहादुर चौधरी, जोशीपुर गाविस वडा नम्बर–४ झवहीका रामप्रसाद चौधरीलाई पनि म्याद थप गरी हिरासतमै राखिएको छ । सुन्दरलाल चौधरी, रामजनम चौधरी र खड्कबहादुर चौधरीलाई भने सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न सबै फोरमका जिल्लास्तरका नेता भएको बताइएको छ ।
छानबिनका लागि पक्राउ
प्रहरीले सोमबार टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको भन्दै छानबिनका लागि थारुहटका केही स्थानीय कार्यकर्तालाई आज पक्राउ गरेको छ । संयुक्त गस्ती टोलीले जोशीपुरका सुन्दरलाल चौधरी, झपटनारायण कुस्मी, खडक चौधरी, प्रेम चौधरी, मुनुवाका रामचन्द्र चौधरी, नारायणपुरका रामजनम चौधरी, मुनुवाका सुन्दर कठरिया, दीलबहादुर चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया र हरिनारायण चौधरीलगायतलाई छानबिनका लागि पक्राउ गरेको नाम उल्लेख नगर्ने शर्तमा सुरक्षा निकायको उच्च स्रोतले जनाएको छ । सुरक्षा स्रोतले घटनामा संलग्न अएको भन्दै पक्राउ गरिएकाको बारेमा थप विवरण दिन भने मानेनन् ।

पत्रपत्रिकाको प्रकाशन बन्द
घटनापछि टीकापुर क्षेत्रबाट प्रकाशन हुँदै आएका पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ ।
टीकापुरबाट चार÷पाँचवटा पत्रिका प्रकाशन हुँदै आएका थिए । त्यहाँस्थित रेडियो फूलबारी एफएममा मङ्गलबार भएको तोडफोडपछि त्यसको प्रसारणसमेत बन्द भएको छ । एफएममा भएको तोडफोड र स्थानीय केही पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ ।