अाफ्नै बन्दुककाे त्रासमा अमेरीका

‘विश्वमै सबैभन्दा धेरै नागरिकले हतियार बोक्ने देश अमेरिका हो। जहाँ राज्यद्धारा ती हतियारको नियन्त्रण प्रयास गरिएको छैन।’

अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो मुलुक आन्तरिक हिंसाबाट नराम्ररी ग्रसित हुँदै गएकोमा निकै चिन्तित छन्।

योभन्दा बढी नागरिकले निर्वाध बन्दुक बोक्न पाउने कानून परिमार्जन गर्न नसक्दा उनमा अझ चिन्ता छाएको जस्तो देखिन्छ। तर आलोचकहरु भने उनले यसमा चाहे जति काम नगरेको टिप्पणी गर्छन्।

आफ्नो दोस्रो कार्यालयको अन्त्यतिर हिंडिरहेका राष्ट्रपति ओबामाले यस्ता हरेक घटनापछि बन्दुक नियन्त्रण सम्बन्धी कानूनमा जोड दिंदै आइरहेका छन्। उनकै भनाईमा, यस्ता घटनालाई प्रार्थना गरेर बिर्सने परम्परा उनलाई पटक्कै चित्त बुझेको छैन।

त्यही असन्तुष्टि उनले बिहीबार ओरिगन राज्यमा १० जनाको ज्यान जाने बन्दुक हमलापछि पनि दोहोर्‍याएका छन्। ओबामासँगै यहाँका हरेकजसो मिडिया र सरोकारवाला निकायमा यस सम्बन्धी श्रृंखलाबद्ध बहस थालनी हुने गर्छ। यो बहस यहाँभित्र मात्र नभई राष्ट्रिय परिधिभन्दा धेरै बाहिर अन्तराष्ट्रियजगतसम्म पुग्ने गर्छ।

बेलायत, अष्टे्रलिया लगायत मुलुकका विज्ञहरुले अमेरिकी जनताको बन्दुक मोहप्रति आश्चर्य मान्दै आएका छन्। अमेरिकाले आफ्नो मुलुक र आफ्ना नागरिकलाई शक्तिशाली देखाउन सबैलाई हतियार बाँडेको उनीहरुको आशंका छ।

तथ्याङ्कअनुसार एक सय अमेरिकनमध्ये ८९ जनासँग अहिले बन्दुक छ। यही अनुपातमा बेलायतमा भने ६ जनासँग मात्र यस्तो हतियार छ। युरोपेली मुलुकहरुमा बन्दुकको यो दर निकै तल छ।

‘किन यतिधेरै अमेरिकी नागरिक हतियार राख्छन्?’ भन्ने अन्तराष्ट्रिय मामिलाका विज्ञले राखेका प्रश्नहरुको जवाफ आजसम्म कुनै बहसमा आउन सकेको छैन।

आफ्ना नागरिकलाई निर्वाध हतियार राख्न दिने अमेरिकी नीतिप्रति उनीहरुको घोर आश्चर्य मात्र होइन यसको सही लगाममाथि अनेकन चिन्ताका स्वर आइरहेका छन्। विभिन्न आंकडाले अमेरिकाभन्दा युरोपेली मुलुक सुरक्षाका दृष्टिले भरपर्दा हुँदै गएको औंल्याएका छन्।

यसको एउटा पुष्टिका रुपमा हालै सार्वजनिक भएको संसारकै सुरक्षित मुलुकहरुको सूचीमा अमेरिका ९४ औं स्थानमा देखिएको थियो।

विज्ञहरुले दावी गरेअनुसार विश्वमा सबैभन्दा धेरै नागरिकले हतियार बोक्ने देश अमेरिका हो। जहाँ राज्यद्धारा ती हतियारको नियन्त्रण प्रयास गरिएको छैन। राष्ट्रपति ओबामाले हतियार सम्बन्धी भरपर्दो विवरण तयार गर्न गतवर्ष नै निर्देशन दिए पनि यसको पालना नभएको विभिन्न समाचार संस्थाहरुले उल्लेख गरेका छन्।

उनीहरुका अनुसार यस्ता बहस जतिसुकै गरमागरम भए पनि तरकारीझैं बन्दुक किन्न पाउने अमेरिकी कानूनमा तत्काल संशोधन हुने छाँटकाँट देखिएको छैन। यो विश्वलाई अमेरिकाले अहिले पार्र्दै आएको एउटा अर्को आश्चर्य पनि हो।

हरेक घटनालगत्तै राष्ट्रपति ओबामा दोहार्‍याउँ छन् ‘प्रार्थना मात्र धेरै भयो, काम केही भएन। अब ढिला भइसक्यो।’

बन्दुक नियन्त्रण गर्ने कानूनका बाधक भनिएका अमेरिकी कँग्रेसमा विपक्षी रिपब्लिकनतर्फ संकेत गर्दै बिहीबार पनि ओबामाले भने,‘मैले मात्रै चाहेर यो (बन्दुक नियन्त्रण कानून) सम्भवन छैन। यसका लागि डेमोक्रेटिक, रिपब्लिकन वा स्वतन्त्र जो–कोही तयार हुनैपर्छ।’

ओबामा प्रशासन नागरिकले बन्दुक बोक्न पाउने सजिलो कानूनविरुद्ध वर्षांैदेखि उभिँदै आएको छ। उनीभन्दा अघिका डेमोक्रेटिक तर्फबाट चुनिएका राष्ट्रपति पनि यही बाटोमा थिए। अहिले सन् २०१६ को राष्ट्रपति निर्वाचनका लागि मैदानमा उत्रिएकी हिलारी क्लिन्टनले पनि यही मुद्दा उठाएकी छिन्। बिहीबारको घटनालगत्तै उनले बन्दुक बिक्रीमा गरिने कडाईलाई मुलुकभर अभियानका रुपमा लैजानुपर्नेमा जोड दिएकी छिन्।

उनको यो भनाई अधिकाँश अमेरिकी जनताको मत आफुतिर पार्ने अवसरको रुपमा आएको ठानिएको छ। सिएनएकाअनुसार ८५ देखि ९० प्रतिशत अमेरिकी जनता सहजरुपमा बन्दुक बोक्न पाउने कानून  संशोधनको पक्षमा छन्।

विपक्षी दल रिपब्लिकन भने आत्मरक्षा र प्रतिरक्षाका लागि नागरिकले बन्दुक बोक्न पाउनुपर्ने पक्षमा सधैं अडिग छ। कँग्रेसमा पकट रहेको रिपब्किलन तयार नभएसम्म ओबामाले मात्रै चाहेर यो कानून आउने अवस्था छैन। रिपब्लिकनको सोझो जवाफ छ,‘जो चाहँदैन उसले हतियार नराखे भै’गो नी।’

बिहीबार ओरिगन राज्यको कम्यूनिटी कलेजमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाएर १० जनाको हत्या गरेपछि ओबामा बन्दुक निशेषको कानूनको पक्ष लिएर फेरि गम्भिर मुद्रामा उपस्थित भए।

उनले फेरि भनेका छन्,‘अब प्रार्थना मात्र पर्याप्त छैन। यस्ता घटना रोक्न कानूनमै जानुको विकल्प छैन।’

यहाँका साना–ठूला सबैखाले मिडियामा यो घटनालाई लिएर बन्दुक नियन्त्रण गर्ने कानून सम्बन्धी तात्तातो बहस फेरि प्रमुखताका साथ अगाडि आएको छ। यसपटक पनि नतिजा हात लाग्यो शुन्य हुने पक्का छ।

सिएनएनका अनुसार ओबामाले जतिपटक दोहोर्‍याए पनि बन्दुक बिक्रीमा कडाई गर्ने विषयले विपक्षी दलको दाल लगेको छैन। बन्दुक बोक्ने हैसियतकै कारण अमेरिकी नागरिक अन्य मुलुकको नागरिकको दाँजोमा बढी प्रतिरक्षात्मक रहेको रिपब्लिकनको तर्क छ। यही प्रतिरक्षात्मक बलकै कारण यहाँ बलात्कार र डकैती जस्ता अपराधको दर अन्य मुलुकभन्दा कम हुने उसको दावी छ।

प्रतिरक्षाका नाममा तरकारीझैं खुला बजारमा सहजै किन्न पाइने बन्दुकले दैनिक हिंसात्मक रुप लिंदा भने रिपब्लिकनको चित्तबुझ्दो तर्क आउन सकेको छैन। यद्यपी आफ्नो व्यवसायको मात्र मुख नहेरी बढ्दो हिंसा देखेर अमेरिकाभर आफ्नो व्यापार सञ्जाल फैलाएको सुपरस्टोर ‘वालमार्ट’ले केही साताअघि बन्दुक बिक्री रोक्ने महत्वपूर्ण निर्णय लिएको थियो।

अमेरिकास्थित विभिन्न राज्यमा बन्दुकको भरमा दिनदहाडै सपिङ स्टोर र ग्याँस स्टेशन लुटिने घटना नौला होइनन्। ती घटनामा कैयन् निर्दाेषको ज्यान जाने गरेको छ।

ओबामाको भनाईमा, निर्वाध बोक्न पाउने अत्याधुनिक हतियार बन्दुकको दुरुपयोगले विश्वकै सर्वशक्तिमान मुलुक अमेरिका दिनदिनै आक्रान्त बनेको सन्देशले विश्वजगतमा बदनामी कमाइरहेको छ। यो हिंसा कुनै वाद वा सम्प्रदायका लागि नभई जहाँसुकै र जुनसुकै बेला सामान्य आवेशमै हुने गरेको छ।

चिन्ता कहाँनेर बढ्दै गएको छ भने अमेरिका आफ्ना स्कुले बाबु–नानीलाई बाबुआमाले जन्मदिनको उपहार बन्दुक दिने देशको रुपमा चिनिन थालेको छ। त्यही बन्दुक स्कुल वा चर्चमा पुगेर नरसंहारमा प्रयोग हुने क्रम बढ्दै गएको छ।