शिब भण्डारी
लण्डन ।गोर्खाली समाज युकेले आफ्नो जन्मभूमि गोर्खाका भिमसेनथापा गाँउपालिका ५ बगुवामा राहत वितरण गरेकोे छ। नेपाली वेयलफेयर सोसाइटी युके (न्यूज यूके)ले सञ्चालन गरेको बाँचौ र बचाऔँ अभियानमा ऐक्यबद्धता जनाउँदै अभियानको २१ औँ श्रृङ्खलामा गोर्खाली समाज यूकेले ६० परिवारलाई राहत वितरण गरेको हो ।
कोरोना भाइरस महामारी र यसको नियन्त्रणको लागि लगाइएको लकडाउनको कारण आर्थिक समस्यामा परेका नागरिकहरुलाई एक बोरा (३०) केजी चामल ,दाल, नुन, तेल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।
गोर्खाली समाज युकेका बरिष्ठ उपाध्यक्ष हरिभक्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा गोरखा १ बाट निर्बाचित संघिय सांसद हरिराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रिय अध्यक्ष कुमार पन्त,महासचिब डा. हेमराज शर्मा,ग्लोवल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिनय अधिकारीको उपस्थिती रहेको थियो ।
त्यस्तै नेपालबाट उपेक्षित, उत्पिडित र दलित बर्ग उत्थान बिकास समितीका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, गोर्खाली समाज युकेका संरक्षक डा.राघब धिताल, बिष्णु बहादुर तामांग,शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेका पूर्व अध्यक्ष रोहित गुरुङ,गोर्खाली समाज युके उपाध्यक्ष द्धोय हेम गुरुङ ,टकमाया गुरुङ, भीमसेन थापा गाउँपालिका ५ का वडाध्यक्ष प्रेम चन्द्र श्रेष्ठ, वडा सदस्य शंकर बिक, नेपाल दलित मुक्ति संगठनका नेता बाबुराम दानकुटी,समाजका सल्लाहकार गणेश गुरुङ,रनधोज राना, प्रेम भट्ट,कृष्ण दर्लामी मगर ,राम श्रेष्ठ ,फडक गुरुङ लगायत गोर्खाली समाज युकेका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद अधिकारीले पछिल्लो दश बर्षमा नेपाल विकासको गतिमा धेरै अघि बढेको भन्दै उनले निराश नभएर अघि बढ्न पर्नेमा जोड दिए । समाजमा हाल धेरै कुरामा निराशा फैलाउने र नकारात्मक कुरा मात्र गर्ने बानी बसेको भन्दै उनले कसैलाई पनि निराश नहुन आग्रह गरे ।गोरखामा समाजले गरेको यसप्रकारको कामको सम्मान गर्दै उनले राम्रो कामको सबैले समर्थन गर्नुपर्ने भन्दै गोरखाबासी एकताबद्ध भएको खण्डमा गोरखाको बिकास टाढा नभएको बताए ।
त्यसैगरी विशेष अतिथि गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघ एनआरएनएले गोरखाको लाप्राक बस्ती नै बनाएर हालसम्मकै ठूलो प्रोजेक्ट गरेको भन्दै उनले उक्त बस्ती हेर्न जान सबैलाई आग्रह समेत गरे । गोरखामा गरे जस्तै नेपालमा पनि अन्य धेरै क्षेत्रमा एनआरएनएले राहतका कार्यक्रम गर्न लागेको समेत उनले जानकारी दिए ।
बाचौं र बचाऔँ अभियानका कार्यक्रम संयोजक तथा नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष एवं एनआरएन युकेका कार्यसमितिका सदस्य धन बहादुर सार्कीले ऐतिहासिक आफ्नो गृह जिल्लामा २१ औँ चरणमा राहत वितरण गर्ने कामलाई सहजीकरण गर्न पाएकोमा खुशी ब्यक्ति गरे।उनले हालसम्म यस अभियान मार्फत एकल र २१ संस्था सँग सहकार्य गरी १८ जिल्लाका ९६८ घर धुरी परिवारमा राहत वितरण गर्न पाउनु आफ्नो निम्ती पनि सौभाग्यको कुरा रहेको बताए ।
आफ्नो गाँउ घर सम्झिएर गरेको यसप्रकारको पुन्य काम गर्न पाएकोमा खुशी ब्यक्त गर्दै समाजका उपाध्यक्ष तथा एनआरएनए यूकेका कार्यसमिति सदस्य हेम गुरुङले यस पवित्र काममा साथ दिने सबैलाई धन्यवाद दिए ।
कार्यक्रमको पहिलो चरण सञ्चालन रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी युकेका उपाध्यक्ष तथा एनआरएनए यूकेका सचिब एवं कुशल कार्यक्रम सञ्चालक जित रानाभाटले गरे भन दोस्रो चरणको सञ्चालन गोर्खाली समाजका महासचिब अशोक ढकालले गरेका थिए ।
बिकट क्षेत्रका बासिन्दालाई संस्थाले गरेको खाद्यान्न सहयाेग राहत पाउदा गाउँलेहरुले हर्षित महसुस गरेको समाजका महासचिब अशोक ढकालले बताए।






