काठमाडौं- बेलायती राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारीले मंगलबार बिहान लम्जुङमा बिहानको सूर्योदयसँगै प्राकृतिक मनोरमका उत्कृष्ट नमुनाका रुपमा रहेका हिमाली दृश्य अवलोकन गरेका छन् ।
उनले सूर्यादयलगायतका मनोरम हिमाली दृश्यलाई आफ्नो निजी मोबाइलमा कैद गरे । अन्नपूर्ण दोस्रो, माछापुच्छ्रे, लम्जुङ, मनास्लु, हिमचुली र एलएचल्हो हिमाल र सूर्योदयका दृश्यलाई उहाँले निकै अभिरुचीपूर्वक अवलोकन गरे ।
नेपालको औपचारिक पाँच दिने भ्रमणमा चैत ६ गते राजधानी काठमाडौँ आइपुग्नुभएका ह्यारी सोमबार लम्जुङ जिल्लाको गौँडा गाविसस्थित लेउरानीमा बास बसेका थिए ।
उनले दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकका तर्फबाट सो गाउँबाट सहभागी स्व गन्धुराम तामाङको घरमा बसी उनकी श्रीमती मङ्गली तामाङसँग बेलुकाको खाना खाएका थिए ।
सोमबार बेलुकाको असिना पानीले एक्कासि चिसो बनेको वातावरण भए पनि राकुमार ह्यारी बिहानै ५ बजे उठी हिमाली दृश्यको अवलोकन गरेका थिए ।






