सन्दिप लामिछाने अष्ट्रेलिया आउँदै

सिड्नी । इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर विहिबार स्वदेश फिर्ता भएका नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने केही समयमै अष्ट्रेलिया आउने भएका छन् ।
युएईमा भएको आईपीएलमा दिल्लीले फाइनलसम्म पुग्दा १७ खेल खेल्दा सन्दीपले एक खेल पनि खेल्न पाएन्न् । मंगलबार भएको फाइनलमा दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो ।

क्यारेबियन प्रिमियर लिग सीपीएल टी–२० खेल्न जुलाई अन्तिममा वेष्ट इन्डिज पुगेका सन्दीप उतैबाट आईपीएल खेल्न युएई गएका थिए । सन्दीप तीन महिना भन्दा बढी समयपछि नेपाल फर्किएका थिए ।

लामो समय मुलुकबाहिर रहेकोले सन्दीपले केही समय नेपालमै परिवारसंग समय बिताउने र त्यसपछि बिग बास लिग बीबीएलका लागि अष्ट्रेलिया आउने कार्यक्रम रहेको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

यसअघि दुई संस्करण लगातार मेलवर्न स्टार्सबाट खेलेका सन्दीपले यस पटक नयाँ टिमबाट बीबीएल खेल्दैछन् ।

बीबीएल डिसेम्बर १० देखि शुरु हुँदैछ । बिहीबार नेपाल फर्किएपछि सन्दीपले ट्विटरमा लेखेका छन्, कथा सकिएको छैन, विस्तारै शुरु हुँदै छ ।’