काठमाडौं– स्थानीय तहको निर्वाचन अन्तर्गत दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ मा आज मतदान हुँदै छ । बिहान ७ बजेबाट मतदान प्रक्रिया सुरु भएको निर्वाचन आयोगले जनाएको छ । अपरान्ह ५ बजेसम्म मतदानको समय तय गरिएको पनि आयोगले जनाएको छ ।
एक लाख ६३ हजार ८२३ सुरक्षाकर्मी
आज ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुनेछन् ।
चुनावी मैदानमा ६२ हजार ४ सय ८
३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका बुधबार मतदान हुन लागेको हो । निर्वाचनबाट १५ हजार ३८ पदाधिकारीलाई निर्वाचित हुनेछन् । निर्वाचनमा ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगकाअनुसार यी तीन प्रदेशमा ६४ लाख ३२ हजार ६५ मतदाता रहेका छन् ।
सहभागी हुन आयोगको आग्रह
निर्वाचन आयोगले निर्वाचनमा भयरहित वातावरणमा सहभागी हुन अपिल गरेको छ । निर्वाचनका क्रममा सरकारले सुरक्षाको सम्पूर्ण वातावरण मिलाएको उल्लेख गर्दै आयोगले आफ्नो मताधिकार सहज रूपमा उपयोग गर्न आग्रह गरेको छ ।
परिचयपत्र नभए..
आयोगले स्थानीय निर्वाचनका लागि जारी गरेको मतदाता परिचयपत्र हराए वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा ०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र र सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ ।
निर्वाचन सर्यो
रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ को निर्वाचन सरेको छ । उक्त वडाका माओवादी केन्द्रका उम्मेदवार मुरारी मल्लाहको निधन भएपछि निर्वाचन १६ असारका लागि सारिएको हो । माओवादी केन्द्रले मुरारी मल्लाहको सट्टामा भोला मल्लाहलाई उम्मेदवार बनाएको छ ।
२ नम्बर प्रदेशमा असोज २ गते
प्रदेश नम्बर २ का १२७ स्थानीय तहमा भने तेस्रो चरणमा २ असोजमा निर्वाचन हुँदै छ । सरकारले दोस्रो चरणमा हुने प्रदेश २ को निर्वाचनलाई सारेर तेस्रो चरणमा पु¥याएको हो ।
पहिलो चरणमा प्रदेश नम्बर ३, ४, ६ को स्थानीय तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो । पहिलो चरणमा सम्पन्न निर्वाचनबाट निर्वाचिन दुई सय ८२ स्थानीय तहका जनप्रतिनिधिहरुले कार्यभार सम्हालिसकेका छन् ।






