बलात्कार पछि हत्या गरिएकी देउरुपाका श्रीमान र छोरालाई नयाँघर

gharगगनशिला खड्का
गुल्मी ९ बैशाख  ।  सुन्दर गाउँमा बाक्लो बस्ती,वरीपरी स—साना चिटिक्क परेका घरहरु । त्यही बाक्लो बस्ती र घरहरुको विचमा एउटा आधुनिक शैलीमा निर्माण गरिएको प्लास्टर सहितको दुईतले घर ।
घर अगाडी सुन्दर बगैंचा र नजिकै पक्की शौचालय ।  जो कोही व्यक्तीको पनि अन्तिम इच्छा भनेको यस्तै घर आफ्नो निजी होस र त्यही घरमा सुखी परिवार खुसी साथ बस्न पाइयोस भन्ने चाहना हुन्छ । तर गुल्मीको पुर्वि क्षेत्र हर्मीचौर गाविस ३ का ७० बर्षिय लक्ष्मीपति सापकोटाको भने यस्तो सपना बृद्ध अवस्थामा समेत पुरा हुन सकेन ।
उनले विछट्टै मायाँ गर्ने र जुगौँ जुग संगै बाच्ने संगै मर्ने कसम खाएकी श्रीमति ६९ वर्षिया बृद्धा देउरुपा सापकोटाको विगत आठ महिना अघि बलात्कार पछि हत्या भएपछि उनका श्रीमानलाई घर शुन्य जस्तै लाग्छ । बुढेसकालमा एक अर्काको सारथी बनेर जिवन गुजाँरा गरौला भनेर सोचेका सापकोटाको सपना एकाएक चकनाचुर भएपछि उनी संग हाँसो भन्दा बढी रोदन छ । उनलाई संगसंगै पछुतो पनि छ । अहिले बर्णन गरिए जस्तो घर पहिले नै भईदिएको भए सायद श्रीमतिको हत्या हुने थिएन कि ? भन्ने उनको विश्वास छ । तर अव चाहेर पनि उनको इच्छा पुरा हुन सम्भव छैन  ।
गाउँको एकान्तमा ढोकाबिनाको झुपडीमा बस्दै आएकी सापकोटाको गत साउन २२ गते दिउँसो घरमा एक्लै भएको मौका छोपी ठुलोलुम्पेक–१ घर भई अर्वेनी–२ मा डेरा गरी बस्ने ४० वर्षिय देवबहादुर थापाले बलात्कार पछि हत्या गरेका थिए । उनले घरमा पुगेर चिया पकाउन लगाई खाएको केहि वेरमै जवरजस्ती करणी गरी उक्त कुरा सार्वजनिक हुन्छ भन्ने डरले कोदालाको पासोले टाउकोमा हानी हत्या गरेको जिल्ला अदालत गुल्मीको फैसलामा उल्लेख छ ।
गुल्मीका जिल्ला न्यायाधीस ऋषिराम आचार्यको ईजलासले अभिुयुक्त थापालाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३ (१) वमोजिम सर्वस्व सहित जन्म कैद २० वर्ष र जवरजस्ती करणी महलको ३ (५) वमोजिम ६ वर्ष सहित कुल २६ वर्ष कारगार कैदको फैसला सुनाएपछि पुर्पक्षका लागि थुनामा राखिएका थापालाई अदातलको फैसला पछि कारागार चलान गरीएको छ । तर देउरुपाको घरमा भने अहिले सम्म पनि सन्नाटा छाएको छ । उनका श्रीमान सापकोटाले भने ः“ माथी एक्लो र रुखो बस्ती,त्यही मेरो एउटा सानो झुपडी थियो,छरछिमेक कोही नहुदाँ मेरो प्राणप्यारीले गुहाँर नपाई ज्यान गुमाउनुप¥र्यो । ” आर्थिक अवस्था कमजोर रहेको सापकोटा परिवारले त्यतिवेला रहर भएर पनि बाक्लो बस्तीमा बाँस बस्न सकेन । तर अहिले बस्तीको विचमा घर छ तर श्रीमति छैनन् ।
उजाड भुमीमा एक्लै बसेकै कारण बलात्कार पछि हत्या गरिएकी आफ्नै गाउँले आमाको खबरले हर्मीचौर घर भई रोजगारीका लागि अमेरिकामा रहेका डोलराज पाण्डेलाई भावुक बनायो । उनले भने ः“ एकान्त बस्तीमा भएकै कारण बृद्धा आमाले बलात्कारपछि ज्यान गुमाउनुपर्यो्, केही भएपनि उनीहरुलाई राहत मिलोस भनेर घर बनाइदिए ,” ।
उनले सापकोटाको परिवारमा परेको बज्रपातलाई अलिकति भएपनि महलम लगाउने हेतुले गाउँको बिचमा जग्गासहित झन्डै ५ लाख लागतमा घर बनाइदिए । घर निर्माणपछि देउरुपाका ७० वर्षीय श्रीमान् र १९ वर्षीय छोरा थीरलाल नयाँ घरमा बस्न थालेका छन् । पाण्डेले आफनी आमा सुमित्रामार्फत घर हस्तान्तरण गराएका थिए । विपन्न सापकोटा परिवार दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका डोलराजले आम्दानीको केही अंश गाउँको विकास र सामाजिक काममा खर्च गर्ने बताए । उनले लक्ष्मीपतिका लागि ५० हजार रुपैयाँको अक्षय कोषसमेत खडा गरिदिएका छन् ।