गगनशिला खड्का
गुल्मी ९ बैशाख । चारवर्षअघि रामेछापको तामाकोशी सहकारी अस्पत्तालमा काम गर्न जाँदा बाँझकटेरीका विष्णु भुसाल (२५) ले आफ्नो विकट गाविसमा स्वास्थ्य केन्द्र स्थापना होला भन्ने कल्पना सम्म पनि गरेका थिएनन् । उनको सोँच थियो जागिरमा राम्रो प्रगति गर्ने र गाउँमा आउँदा राम्रो तलव बा आमाका हातमा राखिदिने । तर काम गर्ने क्रममा यस्तो संयोग प¥यो कि तीन वर्षको अवधिमा उनले आफ्नो विकट गाउँमा स्वास्थ्यकेन्द्र लिएर फर्के ।
भुसालकै पहलमा दुर्गम गाउँका जनताको स्वास्थ्य समस्या देखेर जर्मन नागरीकले जिल्लाको अति विकट बाँझकटेरीमा स्वास्थ्य केन्द्र खोलीदिएका छन् । गुल्मीका पश्चिमी विकट गाविसका जनताहरु स्वास्थ्य उपचारमा समस्या देखेर जर्मन नागरीक डा. क्वाईस ईक्करले सामुदायकि स्वास्थ्य केन्द्र खोलीदिएका हुन् । बाँझकटेरी, अग्लुङ्ग, सिर्सेनी, म्यालपोखरी, मलायागिरी, लगायतका गाविसका जनतालाई स्वास्थ्य उपचारमा सेवा पुर्याउन बाँझकटेरी गाविस वार्ड नं २ मा मदाने स्वास्थ्य सामुदायीक सेवा केन्द्र सञ्चालन भएको छ ।
२०६२ सालमा सदरमुकामबाट एसएलसी पास गरेपछि भुसालले काठमाण्डौमा एचए पढेर २०६५ सालमा रामेछापको तामाकोसी सामुदायीक अस्पत्तलामा काम गर्न गए । अस्पत्तालमा काम गर्ने क्रममा संयोगबस एक जना विदेशीसंग संग भेट भयो । जो तालिम दिनका लागी अस्पत्तालमा आएका थिए । सामान्य कुराकानीमै अलि बढी आफ्नो बारेमा सोधीखोजी गरेका ति व्यक्तिसंगको चिनाजानी राम्रै भयो । कुराकानीको क्रममा जर्मन नागरीक डा. क्वाईस ईक्करसंग गाउँको दुःखका बारेमा पनि बताए । डा. ईक्करसंग कुराकानीका क्रममा गाउँ दुर्गम भएको र जनताले आधारभुत स्वास्थ्यसेवा लिन नपाएर मर्नुपरेको कुरा गरे । त्यो कुरा गर्दा निकै चाँसो राखेका जर्मन डाक्टरले गाउँमा आई त्यहाँको अवस्था देखेर स्वास्थ्यचौकीको लागि सहयोग गरे । ‘त्यहाँ काम गर्दा स्वास्थ्यचौकी पुग्न कम्तिमा तीन घण्टाको पैदल हिँड्नुपर्ने आफ्नो गाउँलाई सम्झेर हाम्रो गाउँमा पनि जनताले यस्तै स्वास्थ्य सेवा पाए कति सुख पाउँदाहुन् भन्ने लाग्थ्यो । ’ भुसालले भने – ‘पछि एकपटक गाउँमा पुगेर बुझौँ न भनेपछि २०६७ सालमा हामी मेरो गाउँमा आउँदा समस्या देखेपछि उहाँले जर्मनीका नागरीकहरुसंग सहयोग जुटाउएर २०६८ देखि स्वास्थ्यकेन्द्र खोलिदिनुभयो ।’ जागीर खान गएको ३ वर्षमै स्वास्थ्य केन्द्र उपहार ल्याईदिएर फर्केँका भुसालको आफ्नो जागीरको यात्रा र ईक्करसंगको भेट यहाँका जनताका लागि भगवानसंगको साक्षत्कार जस्तै हुन पुग्यो ।
सरकारको स्वास्थ्यचौकी स्तरको सेवा दिने गरीएको केन्द्रले औषधी बाहेकका सेवा निःशुल्क सञ्चालन गरेको छ भने औषधी चाहीँ ६ प्रतिशत छुटमा उपलब्ध गराएको केन्द्रका प्रमुख विष्णु भुसालले बताए । तर १३ वर्ष मुनिका बालबालिका र ७५ वर्ष माथीका ज्येष्ठ नागरीकलाई भने औषधिमा ५० प्रतिशत छुट रहेको उनले बताए । सामुदायीक स्वास्थ्य सेवा केन्द्रका पहलकर्ता भुसाल हेल्थ असिस्टेन्ट हुन भने अनमी, सिएमए लगायतका स्वास्थ्य कार्यकर्ता सहित ७ जनाले अहिले केन्द्रमा सेवा दिईरहेका छन् ।
आफ्नै पहलमा डा. क्वाईस गाउँमा आएर स्वास्थ्य केन्द्र खोलीदिएका भुसालको भनाई छ । ‘मैले रामेछापको तामाकोशी सहकारी अस्पत्तालमा काम गर्थेँ, त्यहाँ काम गर्दा तालिम दिन आएका उहाँ ( डा. क्वाईस ) संग परीचय भयो ’ उनले भने – ‘अनि मैले मेरो गाउँमा स्वास्थ्य सेवाको समस्या बताएपछि उहाँले गाउँमा आउँदा स्वास्थ्य सेवामा समस्या देखेपछि स्वास्थ्य केन्द्र खोलीदिनुभयो ।’
स्वास्थ्य सेवा सञ्चालनका लागि काठमाण्डौमा ‘नेपाल हेल्प’नामक संस्थाले समन्वय गरेको छ भने जर्मनीमा ‘ब्रिपाल’ नामक संस्थाले त्यहाँका नागरीकहरुबाट सहयोग संकलन गरीहरेको डा. क्वाईसले बताए । समन्वयकारी संस्था नेपाल हेल्पको काठमाण्डौस्थित कार्यालय र कर्मचारी र बाँझकटेरीको स्वास्थ्यकेन्द्रका कर्मचारीको तलव तथा औषधि गरी वार्षिक ३५ लाख खर्च हुने गरेको संस्थाका कार्यक्रम संयोजक कृष्ण ढकालले बताए ।
तीनवर्षसम्म व्यक्तिको घरमा निःशुल्क रुपमा सञ्चालन भएको केन्द्र गतसातादेखि आफ्नै भवनमा सरेको छ । व्यक्तिको साँघुरो घरमा समस्या भएपछि १ करोड ९ लाख रुपैयाँ खर्चमा नयाँ भवन बनेको छ । भवनका लागि जर्मनीबाटै नागरीकहरुले सहयोग गरेका थिए । त्यसअघि स्वास्थ्य केन्द्र सञ्चालनका लागी स्थानिय मोती बहादुर केसीले निःशुल्क रुपमा घर उपलब्ध गराएका थिए ।
स्वास्थ्य केन्द्रमा बाँझकटेरी, अग्लुङ्ग, सिर्सेनी, म्यालपोखरी, मलायागिरी, लगायतका गाविसबाट दैनिक २० जनाभन्दा बढी विरामीहरुले सेवा लिने गरेको केन्द्रले जानकारी दिएको छ । स्वास्थ्यकेन्द्रमा औषधोपचार बाहेक गाउँका गरीव वर्गका विरामीहरुलाई जटिल रोगको उपचारमा आर्थिक सहयोग पनि गरेको स्वास्थ्यकेन्द्र प्रमुख भुसालले बताए । नियमित उपचार बाहेक जर्मन डक्टरहरु र नेपालकै विभीन्न रोगका विशेषज्ञद्वारा मासिक रुपमा शिवीर पनि सञ्चालन हुने गर्दछ ।
आफूहरु सामान्य उपचारका लागि पनि छिमेकी जिल्ला प्यूठानमा पुग्नुपर्ने अवस्था रहेकोमा छिमेकी गाविसमा सामुदायीक स्वास्थ्य केन्द्र खुलेपछि सजिलो भएको अग्ुलङ्ग गाविसक िमनिकला विष्टले बताउनुभयो । ‘गाउँको सरकारी स्वास्थ्यकेन्द्रमा सँधै समस्या, राम्रो उपचार गर्न कहिले दिनभरी हिँडेर प्यूठानको विजुवार कहिले दुई तिन हजार खर्च गरेर तम्घासमा जान्थ्यौँ’ उनले भनिन् – ‘अहिले त छिमेकमै राम्रो उपचार पाईन्छ, सजिलो भउको छ ।’ गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि उपचारका लागि स्थानीको धेरै खर्च पनि जोगिएको छ । स्थानीयको बाँझकटेरीकै स्थानीय बृज बहादुर खत्रीले पनि गाउँमा बेलाबेलामा विदेशी डक्टरहरु आउनेभएपछि जनता निकै खुसी भएको र बाहिर उपचार गर्न जाँदा लाग्ने धेरे खर्च जोगिएको बताए ।
तम्घास अस्पत्ताल विकास समितिका अध्यक्ष प्रसाद भुसालले स्वास्थ्य सेवा लिन जनताले निकै दुःख पाईरहेको ठाउँमा यस्तो स्वास्थ्यकेन्द्र खुल्नुले निकै सेवा पुगेको प्रतिकृया दिए । ‘यहाँबाट पूर्कोटदहको स्वास्थ्यचौकीमा पुग्न तीन घण्टा पैदल हिँड्नुपर्छ, आफ्नै गाविसको उपस्वास्थ्यचौकी पुग्न पनि १ घण्टाको बाटो छ, गाउँमै स्वास्थ्यचौकी स्तरको सेवा लिन पाउनु भनेको त भाग्यको कुरा हो ।’ – उनले भने । उनले यस केन्द्रले निरन्तरता पाउनुपर्ने धारणा राखे । भवन उद्घाटनको क्रममा सदरमुकामबाट नेपाली काँग्रेसका उपसभापति भुवन श्रेष्ठ, एमाले जिल्ला सचिवालय सदस्य कृष्ण घिमीरे, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष उमा विक लगायतले गाउँमा गुणस्तरीय सेवा दिने गरी स्वास्थ्य सेवा खुल्नु सकारात्मक भएको भन्दै यो स्थास्थ्यकेन्द्रलाई दिर्घकालिन बनाउन सबै पार्टि मिलेर लाग्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।






