बुटवल, ७ वैशाख । पश्चिमाञ्चल क्षेत्रमा स्थायी बसोवास गर्ने भूतपूर्व सैनिकहरुको पोखरा, बुटवल र तनहुँकै खैरेनीटारमा घुइँचो लागेको छ । भूपू सैनिकहरुको पश्चिमाञ्चल क्षेत्रको सम्मेलनमा भाग लिने सन्दर्भमा उनीहरुको ती तीन स्थानमा घुइँचो लागेको हो । नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजनमा २०७० साल माघ २९ गते धनगढीबाट क्षेत्रगत रुपमा सुरु भएको यो सम्मेलन यसअघि तीनवटा विकास क्षेत्रमा भइसकेको छ ।
निकट भविष्यमै मध्यमाञ्चल विकास क्षेत्रमा यस प्रकारको सम्मेलन हुँदैछ । लुम्बिनी अञ्चलका छ जिल्लामा बसोवास गर्ने भूपूहरुको सम्मेलन बुटवलको रामनगरस्थित २२ नम्बर वाहिनीमा आज भएको हो । त्यस्तै, धौलागिरि र गण्डकी अञ्चल मातहतका जिल्लामा रहेका भूपूहरुको सम्मेलन पोखरा र तनहुँको खैरेनीटारमा भोलि र पर्सि हुँदैछ ।
सो सम्मेलनमा गाउँगाउँबाट भूपूहरु भाग लिन एकत्रित भएका छन् । सम्मेलनका अवसरमा लघुवित्त कार्यक्रमअन्तर्गत व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहुलियत ब्याजदरमा ऋण प्रवाहको व्यवस्था मिलाइएको छ । सेनाको कल्याणकारी बोर्डले शारीरिक रुपमा अशक्त भूपूलाई ह्विलचियरसमेत प्रदान गरियो ।
सम्मेलनमा उद्घाटन समारोहमा भूपूहरुले आ–आफ्नो जिल्ला मौलिक संस्कृति र भेषभूषा र बाजागाजासहितको नृत्य तथा झाँकी प्रस्तुत गर्नुका साथै मार्च पास र परेड प्रस्तुत गरेका थिए । बुटवलमा आयोजित सम्मेलनको प्रधानसेनापति गौरवशमशेर जबराले उद्घाटन गर्नुभएको छ ।
सम्मेलनका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । यो सम्मेलनमा डेढदशकपछि आयोजना भएको छ ।
भूपू सैनिकको घुइँचो






