लण्डन ।
चिकित्सा शिक्षामा रहेका विकृतिहरुको अन्त्य र राज्य प्रवर्द्धित कूशासनको बिरुद्ध १९ औं पटक सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेको २४ दिन भईसक्दा समेत सरकारले वार्ता गर्न तत्परता नदेखाएको भन्दै नागरिक अगुवाहरुले उनको जीवन रक्षाको निम्ती अपिल गरेका छन् । १२ जना ब्यक्तिहरुले एक हस्ताक्षर सहितको विज्ञप्ती जारी गर्दै संविधान मार्फत मौलिक हकको रुपमा स्वीकार्य स्वास्थ्य र शिक्षा जस्ता विषयको सर्वसुलभताको लागि कसैले बारबार आवाज उठाउनु पर्ने र सो को सुनुवाई नहुने अवस्थाले राज्यको निर्लज्ज चरित्रलाई उदाङ्गो बनाएको बताए । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “जनता प्रतिको न्यूनतम दायित्व बोधबाट समेत च्यूत बनाएको छ । समाजवाद उन्मुख व्यवस्था भनेर संविधान मै उल्लेख भएको अवस्थामा डा. केसीका मागहरु संविधानको वास्तविक मर्म अनुरुप रहेको र ती मागहरुको सम्बोधनले संविधानको धरातलिय कार्यान्वयनलाई सहयोग पुग्ने हाम्रो अटल विश्वास रहि आएको छ ।”
२४ दिन देखी भोको शरीर र ढल्किसकेको समयमा उनलाई अझै पनि वेवास्ता गर्ने हो भने कुनै पनि बेला अप्रिय घट्ना हुन सक्ने उनीहरुले चेतावनी समेत दिए ।
“अतः दुर्घटना हुनुपूर्व नै सरकार जिम्मेवार बनोस् र डा. केसीसँग गम्भीर वार्ताको पहलकदमी लिंदै उनको जीवन रक्षाको प्रत्याभूति गरोस् । यदि सरकारी उदासिनताले डा. केसीको जीवनमा तलमाथी भयो भने हाल सरकारमा रहेको संख्याको घमण्ड पलभरमा सखाप हुन सक्छ भनेर नागरिक समाजको तर्फबाट सम्झाउन चाहन्छौं।” उनीहरुले भनेका छन् । उक्त विज्ञप्तीमा डा. अमृत पौडेल, उर्जाविज्ञ, सिन्धुपाल्चोक हाल सिंगापुर, उमेश पाठक, वातावरणविज्ञ, नुवाकोट, डा. केशव शर्मा, भूगर्भविद्, चितवन हाल क्यानडा, गोविन्द बाँनिया, पत्रकार, म्याग्दी हाल दक्षिण कोरिया, विक्रम खतिवडा, सूचना प्रविधी इन्जिनियर, मकवानपुर, विद्युत लामिछाने, विद्यार्थी, गोर्खा, रामराज शर्मा, जलस्रोतविज्ञ, स्याङ्जा, हाल वेलायत, डा रामहरी पौड्याल, नबिकरणिय उर्जाबिद, चितवन, हाल बेलायत, शुरेस अधिकारी, कवि, चितवन, शसांक आचार्य, कृषीविज्ञ, दाङ, सरोज श्री अधिकारी, पत्रकार, काभ्रे, हेमन्त वन, यूवा व्यवशायी, सोलुखुम्बुले हस्ताक्षर गरेका छन् ।
डा. केसीको अनसनमा सरकारले चासो नदेखाउँदा गम्भीर दुर्घटना हुने चेतावनी






