बेलायतमा ग्रीनवीच मेयर जीत रानाभाट र गुल्मीका नगर र पालिका प्रमुखहरु बीच भेट बार्ता

लन्डन- गुल्मी जिल्लाका स्थानीय निकाय प्रमुखहरुले लन्डनको रोयल ग्रीनवीच बरो अवलोकन भ्रमण गरेकाछन्।

गुल्मी जिल्ला समाज यूकेको निमन्त्रणमा बेलायत आएका उनीहरुले विहीबार लन्डन वुल्लीचस्थित ग्रीनवीच बरोको कार्यालय पुगेर स्थानीय मेयरसंग अनुभव आदानप्रदान समेत गरे ।

गुल्मीको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थी, कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा तथा गुल्मी दरबार गाउँपालिका प्रमुख सरोजकुमार थापा र उपप्रमुख तारा थापा ढेंगाले ग्रीनवीच बरो भ्रमण गरेका हुन् ।

सो अवसरमा ग्रीनवीच बरो मेयर जीत रानाभाटले गुल्मीका पालिका प्रमुखहरुलाई खादा र बरोको ब्याज लगाएर स्वागत गरेका थिए ।

मेयर रानाभाटले बेलायतमा स्थानीय सरकारको संरचना, सञ्चालनको विधि र अभ्यास, निर्वाचन प्रणाली लगायत विभिन्न प्राविधिक विषयबारे जानकारी गराएका थिए।

ग्रीनवीच बरोमा नेपाली मूलका पहिलो मेयर रानाभाटले नेपालका स्थानीय निकायहरुसंग समन्वय र सहकार्य आफ्नो रुची र प्राथमिकताको विषय रहेको उल्लेख गरेका थिए।

सो अवसरमा गुल्मीको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बेलायतमा भएको उच्चतम विकाससम्बन्धि अनुभव नेपालका स्थानीय निकाय र जनप्रतिनिधिहरुका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरे ।

बेलायतका स्थानीय निकायहरुबाट अनुभवका साथै विधि, प्रक्रियासम्बन्धी प्राविधिक ज्ञान नेपालका स्थानीय निकायहरुका लागि उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।

आर्थिक समृद्धिको आधार नै सुशासन रहेको बताउँदै मेयर पन्थीले यो भ्रमणका क्रममा बेलायतको समुन्नतिलाई नजिकबाट हेर्ने र नेपालमा कसरी यस्तै विकास र समुन्नति हासिल गर्न सकिन्छ भनेर बुझ्ने उद्धेश्य रहेको सुनाए।

सो अवसरमा अन्य पालिका प्रमुखहरुले पनि मेयर रानाभाटसंग अनुभव आदानप्रदान गर्दै बेलायती व्यवस्थाबारे जिज्ञासाहरु राखेका थिए ।

गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष रुद्र थापाले गुल्मीका पालिका प्रमुखहरुलाई स्वागत र अनुभव आदानप्रदानको अवसर मिलाएकोमा मेयर रानाभाटप्रति आभार प्रकट गरे।

भ्रमणका क्रममा ग्रीनवीच बरो मेयर रानाभाटले गुल्मीका पालिका प्रमुखहरुलाई बरोको मेयर पार्लर, एसेम्बली हललगायतका स्थानहरु अवलोकन गराएका थिए ।

सो अवसरमा गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवम् एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, सल्लाहकार बालजंग अर्याल, शिव भण्डारी, तारा भट्राई, महासचिव महलाल घिमिरे, कार्यसमिति सदस्य सुरेश केसीलगायत पदाधिकारीको पनि उपस्थिति थियो ।

गुल्मी जिल्ला समाज यूकेले जिल्लाका सबै पालिका प्रमुखलाई बेलायत निम्त्याएर यहाँका स्थानीय निकायहरुसंग साक्षात्कार गराउने कोशिस गरेको हो । जसअनुसार केही पालिका प्रमुखले दुई दिनअघि रश्मोर बरो पुगेर अवलोकन भ्रमण तथा अनुभव आदानप्रदान गरेका थिए ।