विजुली चोर्ने ११ जना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले पर्साको उदयपुरघुर्मी र हरपतगन्जबाट बल्सी लगाई विद्युत् चोरी गरिरहेको अवस्थामा आज बिहान ११ जनालाई पक्राउ गरेको छ । केन्द्रले सुुरु गरेको विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत उनीहरुलाई विद्युत् प्राधिकरण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरघुर्मीका महन्थ साह, किसननाथ पटेल, सन्दीप साह गोड, कासी राउत र श्रीराम भर छन् भने हरपतगन्जका रामबाबु राम, निराशन ठाकुर, राजेश राय, वीरेन्द्र यादव, दीपनारायण कुर्मी र जयरामप्रसाद कुर्मी रहेका छन् । उनीहरुलाई रु. एक लाख १६ हजार ३५८ जरिवाना गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, बल्सी लगाई विद्युत् चोरी गरिरहेकाको घरबाट चार थान टेलिभिजन सेट तथा एक एक थान मोटर र सिडी प्लेयरसमेत जफत गरिएका छन् । “विद्युत् चुहावट नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा सशक्त ढङ्गले अगाडि बढाएको छु”–केन्द्रका प्रमुख इन्जिनियर ऋषिकुमार वर्णवालले भन्नुभयो–“बिद्युत् चुहावट नियन्त्रणका लागि जिल्लाभरि चेतनामूलक कार्यक्रम तथा कानुनी कारबाहीलाई अभियानका रूपमा लागू गरिएको छ ।”
“स्थानीय प्रहरी प्रशासनको सहयोगमा विद्युत् चुहावट नियन्त्रण अभियान सुरु गरेपछि उत्साहजनक रूपमा सकारात्मक प्रतिफल देखापर्न थालेको छ”–उहाँले भन्नुभयो–“यो अभियानलाई अझ बढी सशक्त र प्रभावकारी रूपमा अगाडि बढाउनका लागि सम्बन्धित सबै पक्षको उच्चस्तरको समन्वय, सहयोग र सहकार्यको निरन्तरता आवश्यक छ ।”
“विद्युत् चुहावट गर्नु सामाजिक अपराध भएकाले यसको न्यूनीकरणका लागि सबैको साझा सहयोग र समन्वयको आवश्यकता रहेको छ”–केन्द्रका प्रमुख इन्जिनियर वर्णवालले भन्नुभयो–“विशेषगरी ग्रामीण क्षेत्रमा सङ्गठित हुकिङ् र मिटरबाट हुने विद्युत् चोरीलाई नियन्त्रण गर्न तथा समयमा विद्युत् महसुल बुझाउनका लागि चेतनामूलक कार्य गर्न हामीसँग भएका सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गरेर अगाडि बढेका छौँ ।”