बेलायतमा नेपाली व्यवसायी सँग एकाउण्टेन्टले अन्तरक्रिया गर्दै

लन्डन । बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले यहाँ व्यवसाय गरिरहेका नेपाली रेस्टुरेन्ट व्यवसायीहरु तथा सेफहरुसंग विभिन्न विषयमा रहेर विशेष अन्तरक्रिर्या गर्ने भएको छ । आउने आइतबार अर्थात ११ अक्टोबर साढे ११ बजे अनलाइन जूम मार्फत आयोजना गरिने उक्त बैठकलाई विभिन्न मिडियाबाट फेसबुक लाइभ पनि गरिने भएको छ ।

“कोभिड–१९ का कारण प्रभावित बेलायतस्थित नेपाली रेस्टुरेन्ट व्यवसायहरुलाई ब्रिटिश सरकारले उपलब्ध गराएका सहुलियतबारे जानकारी दिन पनि हामीले यो वेबिनार आयोजना गर्न लागेका हौँ,“ एसोसियसनका अध्यक्ष सरोज सापकोटाले भने ।

“आतिथ्य उद्योगका वर्तमान चुनौती तथा अवसरहरु“ विषयक छलफलबाट नेपाली व्यवसायीहरु लाभान्वित हुने आफुहरुले अपेक्षा गरेको संस्थाका महासचिव शशिधर नेपालले बताए । उनले सो अन्तरक्रियामा आफ्नो व्यवसायले भोग्नु परेका समस्या तथा आगामी योजनाबारे केही जिज्ञासा भए जूम अन्तरक्रियामा सहभागी भएर वा कार्यक्रम अगावै इमेल पठाएर प्रश्नहरु सोध्न सकिने पनि बताए।

यस अघि नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायतस्थित नेपाली व्यवसायीहरुका लागि कोभिड-१९ ले गर्दा परेको असरबाट व्यापार व्यवसायलाई कसरी जोगाउने र ब्रिटिश अर्थमंत्री ऋषि सुनकले सार्वजनिक गरेको मिनी बजेटका बारेमा छुट्टा छुट्टै वेबिनार गरेको थियो।
आउँदो आइतबार हुन गैरहेको कार्यक्रम नेप्लिज क्याटरर्स एसोसियसन युके तथा नेप्लिज सेफ एसोसियसन युकेसंगको सहकार्यमा आयोजना गरिन लागेको नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले जनाएको छ।